बलात्कार र एसिड आक्रमणका आपराधिक घटनाले देशमा तरंग ल्याएको छ । देशको कमजोर कानुन र दोषीमाथि कडा कारबाही हुन नसक्नुले यस्ता घटना बढ्दै गएका छन् ।



यस्ता घटना बढ्न नदिन सेलिब्रेटीको आवाजले समाजमा ठुलो प्रभाव पार्ने गर्दछ । 'हाम्रा कुरालाई जनताले विश्वास गर्छन् त्यसले जनचेतना जगाउन हामी अगाडी बढ्नु पर्छ', अभिनेत्री प्रियंका कार्कीले भनिन्, 'यस्ता घटनाको बारेमा बोल्नु हाम्रो सामाजिक उतरदायित्व पनि हो ।'
प्रियंकाले टिएनएम म्यागजिनसँग सहकार्य गरेर महिला हिंसाबिरुद्ध कडा आवाज उठाएकी छिन् । टिएनएम म्यागजिनको पहिलो संस्करणको कभर गर्ल बनेकी प्रियंकाले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महिला हिंसाबिरुद्धको अभियानमा लाग्ने घोषणा गरेकी हुन् ।
प्रियंकाले केहि दिन अगाडी मात्रै फेसबुकमा स्टाटस लेखेकी थिईन्- 'अरे बलात्कारीहरु, यो कुरा कसरी बिर्सन्छस् कि नारीको जुन संवेदनशील अंगको तँ नास गर्छस्, त्यहींबाट निस्केपछि तेरो अस्तित्व सुरु भएको हो । नारीबाटै जन्म लिन्छस् र त्यही नारीको सम्मान गर्दैनस् ? पहिलोपल्ट त्यही नारीको दूध पिउँछस् र पछि त्यही दूधको सिकार गर्छस् ? लाज लाग्दैन तँलाई ? धिक्कार ।’

