निर्देशक नवल नेपालले फिल्म क्षेत्रमा संकट आईपर्दा आफूहरू आउने बताएका छन् । फिल्म 'भाग सानी भाग`को घोषणा कार्यक्रममा बोल्दै निर्देशक नेपालले पछिल्लो समय फिल्म नचलिरहेको अवस्थामा यस्तो अभिव्यक्ति दिएका हुन् ।
.jpg)
नारी प्रधान फिल्ममा मात्र रमाउने आरोप लागेका बेला नवलले चुनौतीको सामना गर्दै 'भाग सानी भाग` फरक प्रस्तुतीमा पूर्ण रूपमा मनोरञ्जनात्मक फिल्म बनाएर देखाउने बताए । 'रोनाधोनाबाट हटेर मनोरञ्जनात्मक फिल्म दर्शकलाई दिनेछु', नवलले थपे ।
यता अष्ट्रेलियाबाट फिल्म निर्माणका लागि नेपाल आएका बिष्णु चापागाईंले राम्रो फिल्म बनाएर दिएमा बजार आफूहरूले खोज्ने भनाई राखे । राम्रो फिल्म बनेको खण्डमा अर्न्तराष्ट्रिय बजारमा नेपाली फिल्म बिक्न गार्हो नहुने उनको आशय थियो ।

बलिउडको फिल्म 'भाग मिल्खा भाग'बाट प्रभावित नभई फिल्म बन्न लागेको बताउँदै फिल्मकी शिर्ष पात्र केकी अधिकारीले एउटी बेहुली मण्डपबाट भागेको कथालाई 'भाग सानी भाग`मा देखाईने बताईन् ।
फिल्मका कार्यकारी निर्माताको रूपमा रहेका संगीतकार चेतन सापकोटाले हलमा आएका दर्शकले स्यावास भन्ने खालको फिल्म बनाएर देखाउने दाबी गरे । उनले फिल्म क्षेत्रको विकासमा आफ्नो फिल्मको भूमिका पनि महत्वपूर्ण हुने भनाई राखे ।
रंगीन सपना बोकेर आ-आफ्नो गाउँबाट शहर पसेका एक जोडी युवायुवतीको संघर्षको कथालाई मनोरञ्जनात्मक ढंगबाट प्रस्तुत गर्ने भनिएको 'भाग सानी भाग`मा केकीलाई सविन श्रेष्ठले अनस्क्रिन साथ दिनेछन् । यस्तै फिल्ममा नीर शाह, लय संग्रौला, रमेश बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्का, बिष्णु सापकोटालगायतको अभिनय रहने छ ।

निर्देशक नेपालकै लेखन रहेको यो फिल्ममा चेतन सापकोटाको संगीत, दिव्य सुवेदीको छायाँकन, हिमाल केसीको द्धन्द निर्देशन, कविराज गहतराजको करियोग्राफी रहने छ । सहदेव गौतम र विलोल पोखरेलको पनि लगानी रहने यो फिल्मको सुटिङ शनिबारबाट शुरू हुने बताईएको छ ।

