गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा विश्वकै कान्छा निर्देशकका रुपमा आफ्नो नाम लेखाउन सफल भएका सौगात बिष्टलाई सूर्योदय आवासीय माध्यमिक विद्यालयले रू. तीन लाख पचास हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।
सूर्योदय स्कुलमा कक्षा २ मा अध्ययनरत आठ बर्षिया सौगातको प्रतिभा र क्षमताको कदरस्वरुप भावी दिनमा उनको अतिरिक्त विधासँगै शैक्षिक वृत्ति विकासका लागि कक्षा ३ देखि कक्षा १० सम्मको छात्रवृत्ति दिने निर्णय गरेको प्रिन्सिपल लक्ष्य बहादुर केसीले जानकारी दिए ।
प्रिन्सिपल केसीले सानो उमेरमै फिल्म ‘लभ यू बाबा’ निर्देशन गरी आफ्नो जादुगरी क्षमता प्रदर्शन गरी विद्यालय तथा राष्ट्रकै गरिमा बढाएकोमा आफू र विद्यालय परिवार नै उत्साहित भएको बताए ।
विद्यालय प्रतिभाको आँगन हो र आफ्नो आँगनीमा फुलेको फूललाई प्रोत्साहन गर्नका निमित्त यस किसिमको सहयोग गरेको केसीको भनाई छ ।

