‘ग्ल्यामर फिल्डमा लागेर आफ्नो नाम चम्काउने रहर जसले राख्छ नी, जस्तो अवस्थामा पनि उसले त्यो रहरलाई मार्न सक्दैन ।’ कुराकानीको शुरुवात नै कृष्ण सुनारले यसरी नै गरे ।

कृष्णले अगाडि थपे,–‘मेरो पनि ठ्याक्कै यस्तै रहर हो जुन कुरालाई मैले अहिलेसम्म त्याग्न सकेको छैन ।’ अमेरिकामा १५ वर्षयता रहँदै आएका कृष्ण सुनार अझै पनि फिल्ममा हिरो बन्ने सपना साँचेर हिँडिरहेका छन् । र, त्यहि रहर पुरा गर्नका लागि लागिपरेका छन् ।
लेखनाथ बेगनासतालमा जन्मेर हुर्केका कृष्णलाई सानैदेखि फिल्मको भुत चढेको हो । अग्लो र खाईलाग्दो जिउडाल भएका कृष्णको लुक्सलाई देखेर साथीभाईले पनि ‘हिरो हुन्छस्’ भन्ने गर्थे ।
कृष्णले अर्को एउटा किस्सा सुनाए–‘म त्यो बेला जवान थिएँ, साथीसँग कामको शिलशिलामा स्याङ्गजाको एउटा गाऊँ पुगेको थिएँ । मेरो अग्लो जिउडाल, कर्ली लामो कपाल र फिल्मी शैलीको हिँडाई र लवाईका कारण गाउँलेहरु राजेश हमाल हाम्रो गाऊँमा आयो भनेर मलाई घेरे । पछि मलाई अर्कै देखेपछि उनीहरु झुक्किएर फर्किए । मलाई अहिले सम्झिँदा पनि त्यो क्षण निकै रमाईलो लाग्छ ।’
कृष्ण सम्झिन्छन्–‘साथीहरुलाई चौताराको वरिपरी राखेर हिरो जस्तै गरि हिँड्दा र डाईलग बोल्दा उनीहरु वाल्ल पर्थे ।’ त्यहि बीचमा ‘रणभुभी’ फिल्मको छायाँकन पोखरा आएको क्रममा उनको भेट प्रोडक्सन डिजाईनर गणेश सापकोटासँग भयो । फिल्मको छायाँकनका लागि आवश्यक प्रोपर्टी, लोकेशन मिलाउन उनले गणेशलाई सहयोग गरे । उनकै संगतले गर्दा अरु धेरै फिल्मकर्मीहरुसँग पनि कृष्णको चिनचान हुन पुग्यो ।
त्यसपछि चिनजानको मानिसहरुको फिल्म पोखरामा आईपुग्नासाथ उनी सुटिङ सेटमा पुगिहाल्थे । कतिपटक त आफ्नै खर्च गरेर पोखरा बाहिरका शहरहरुसम्म उनी सुटिङ हेर्न पुग्थे । त्यो बीचमा उनले ‘रणभुमी’, ‘माईली’, ‘पाकेटमार’ र ‘रणभुमी’ फिल्ममा हिरोको सहायक भुमिकामा पनि देखिए । ‘पाकेटमार’ फिल्ममा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँगको काम गराई उनको लागि अहिले पनि निकै विशेष लाग्छ ।
एकादुई फिल्ममा सहायक भुमिकामै भएपनि देखिन थालेपछि उनले आफ्नो करिअर निर्माणका लागि काठमाण्डौ हानिने निर्णय गरे । पारिवारीक अवस्था उति सार्हो राम्रो थिएन । तर उनी काठमाण्डौमा होटल लिएर बस्न थाले । फिटनेशको लागि जिम धाए, डान्स सिके, फाईट क्लास पनि लिए । त्यसपछि फिल्मकर्मीहरुसँग राम्रै भेटघाट र चिनजान हुन थाल्यो । केहि फिल्मकर्मीहरुले उनलाई आर्थिक रुपमा प्रयोग पनि गरे । त्यसपछि उनी फिल्मलाईनबाट केहि बिच्किए । र, अमेरिकाको लागि प्रोसेस गरे १६ वर्ष अगाडि ।
काठमाण्डौमा होटलमा बस्दा तत्कालिन समयमा केहि पैसा तिरेर पनि उनले होटललाई करिब डेढ लाख रुपैँया तिर्न बाँकी रह्यो । ‘फिल्मकर्मी केहि साथीभाईहरु म होटलमा बसेपछि उनीहरुको पनि बास त्यहिँ भएको थियो । त्यसैले होटलमा चर्को बिल निस्कियो ।’ त्यसबेला केहि फिल्ममा खेल्ने चान्स मिलेको भएपनि अमेरिकाबाट भिसा झरेपछि उनी हानिए त्यतैतिर । फिल्ममा हिरो भएर देखिने उनको रहर त्यसै खेर गयो । काठमाण्डौ होटलमा बस्दा लागेको ऋण उनले अमेरिका पुगेपछि तिरे ।
अमेरिकाको मन्टेना स्टेटमा १५ वर्षयता बस्दै आएका कृष्ण सुनारले शुरुवातकै कुरासँग पुनः कुरालाई जोडे । ‘साँच्चै यो फिल्डमा लाग्ने रहर कहिल्यै नमर्ने रै’छ, म अझै पनि रहर पुरा गर्ने बाटोमै छु', उनले भने । कृष्ण सुनारलाई फिल्मको हिरो बन्ने भुतले अझै छाडेको छैन । त्यसैले अहिले उनी त्यसको तयारी स्वरुप म्युजिक भिडियोहरुमा अभिनय गरिरहेका छन् । भर्खरै मात्र मिलन केसीसँग एउटा गीतको भिडियोमा उनले अभिनय गरे । अहिलेसम्म पाँचवटा म्यूजिक भिडियोमा उनले काम गरिसकेका छन् ।
३५ वर्षे अविवाहित कृष्ण पछिल्लो समय हरेक वर्ष नेपाल आउने गर्छन् । र, कम्तीमा पनि एउटा म्यूजिक भिडियोमा अभिनय गरेकै हुन्छन् । अब अर्को वर्ष आउने बेलामा उनको योजना फिल्ममै अभिनय गर्नेछ । त्यो फिल्ममा आफै लगानी गर्ने उनको योजना छ । ‘तर फिल्मलाईनमा लगानी गर्दा जोखिम बढि रहेकोले आफुलाई के गरौँ र कसो गरौँ जस्तो लागिरा’छ', कृष्णले सुनाए । पछिल्लो समय नबुझेर फिल्ममा लगानी गर्ने र अभिनय गर्ने परिपाटीका कारण यस्तो भएको उनको अनुमान छ ।

