दर्शकले समेत प्रतिक्षा गरेका फिल्मलाई वितरकहरुले 'एमजी' अर्थात 'मिनिमम ग्यारेन्टी' दिन थालेका छन् । फिल्म 'नाई नभन्नु ल ३' र 'वडा नम्बर ६'पछि 'भूलभुलैया' फिल्मले पनि 'एमजी' पाएको छ ।

चैत्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'भूलभुलैया'लाई वितरक गोपाल कायस्थले २५ लाख रूपैयाँ एमजी दिएका छन् । निर्देशक योगेश घिमिरेले मंगलबार गोपालसँग यस्तो सहमती भएको जानकारी दिए ।
यो सहमतीसँगै फिल्मले काठमाण्डौबाट २५ लाख सुरक्षित गरेको छ । वितरक कायस्थले राम्रो फिल्म बनेकाले आफूले 'एमजी' दिएको बताए । फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ ।
.jpg)
यस्तै यो फिल्मले बिदेश रिलिजबाट पनि लगानी राम्रै उठाउने अपेक्षा गरिएको छ । अमेरिकाको टेक्सासमा निर्माता शुशिल कार्कीको पहलमा यही मार्च ८ तारिखका दिन अभिनेता जीवन लुईटेलको उपस्थिती हुने गरी फिल्मको बिशेष प्रदर्शनी गरिंदै भने मार्च २८ तारिखका वासिङ्टनमा पनि रिलिज गरिंदै छ । यस्तै अष्ट्रेलियामा रहेका निर्माता दिनेश पोखरेलले पनि फिल्मको रिलिजको चाँजोपाँजो मिलाउँदै छन् ।
जीवन लुईटेल, नीता ढुंगाना, सोहित मानन्धरले अभिनय गरेको 'भूलभुलैया'लाई त्रिकोणात्मक प्रेमकथा भनिएको छ । फिल्मलाई दिनेश कुमार पोखरेलको प्रस्तुतीमा शुशिल कार्की, सुरेश गौतम र मनिराज कार्कीले निर्माण गरेका हुन् ।

