मंगलवार आयोजित फिल्म 'अझै पनि'को प्रिमियरमा 'ट्रष्ट आलोक'को तर्फबाट नेपाली म्यूजिक भिडियोका प्रथम निर्देशक शम्भुजित बास्कोटालाई सम्मान गरिएको छ ।

ट्रस्टकी अध्यक्ष तथा आलोक नेम्वाङकी आमा सुनन्दा नेम्वाङ र निर्मात्री तथा ट्रस्टकी संरक्षक पूनम गौतमले बास्कोटालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरे ।
अभिनेता भुवन केसीले गाएको 'मायालु तिमी टाढा भैदिनाले' बोलको गीतको भिडियोलाई बास्कोटाले निर्देशन गरेका थिए । उक्त भिडियोमा भुवन केसीको नै अभिनय रहेको थियो । विजय उदय पाल्पालीका शब्दमा बास्कोटाले नै संगीत भरेका थिए भने भिडियोलाई जयसिंह शाहले छायांकन गरेका थिए ।

सम्मानित भएपछि बास्कोटाले आलोक नेम्वाङ कहिल्यै पनि दिवंगत हुन नसक्ने बताउँदै नामको अगाडी स्व. नलेख्न र नभन्न आग्रह गरे । आलोक श्रृजनाले भरिएको व्यक्ति भएकोले उनी भित्रको श्रृजना कहिल्यै मर्न नसक्ने बास्कोटाले बताए ।
निर्देशक आलोक नेम्वाङको नाममा स्थापित उक्त ट्रष्टले हरेक बर्ष नेपाली संगीत तथा फिल्म क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने जनाएको छ ।

