शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'अझै पनि'को काठमाण्डौको बीग सिनेमामा प्रिमियर गरिएको छ । निर्देशक आलोक नेम्वाङको अन्तिम कोशेली हेर्नका लागि पत्रकार र फिल्मीकर्मीको बाक्लो उपस्थिती थियो । प्रिमियरमा निर्देशक आलोक नेम्बाङको अनुपास्थितीलाई आमा सुनन्दाले पूर्ती गरिन् ।

कार्यक्रममा बोल्दै निर्माता तथा नायक सुदर्शन थापाले निर्देशक नेम्वाङलाई सम्झेर भावुक हुँदै यति बेला आलोककी आमाको आशिर्वादको खाँचो रहेको बताए । त्यस्तै निर्माता पूनम गौतमले आफ्नो सानैदेखि फिल्म रुचिको विषय भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।
समाजमा बसेर सामाजिक मान्यता हेर्न रुचाउने बताउने गौतमले 'अझै पनि' समाजको यथार्थ चित्रण गर्ने प्रतिनिधि फिल्म बनेकाले सबैलाई एक पटक हर्न र प्रतिक्रिया दिन आग्रह गरिन् ।
फिल्मको कथावस्तु, प्रस्तुतीको प्रशंसा विशेषगरी भयो । फिल्म हेर्ने अधिकांशले आलोकले एउटा मिठो कोशेली छाडेर गएको बताए । फिल्मका गीतसंगीतलाई पनि विशेष रुचाइएको छ ।
सुदर्शन थापा प्रोडक्सन तथा पूनम इन्टरटेनमेन्टद्वारा निर्मित फिल्ममा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विजय लामा, प्रमिला खनाल, विपना धिमाल, विशाल ढुगांना, पुष्प खड्का, मिथिला शर्मा, रामशरण पाठक लगायतका कलाकारको अभिनय रहेको छ ।










