चर्चित भारतीय अभिनेत्री इशा देवलले नेपाली फिल्मप्रति चासो देखाएकी छिन् । आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्म 'अझै पनि'को टिमसँगको सोमवारको छलफलमा उनले आफुले नेपाली फिल्मको बारेका धेरै सुनेको र हेर्ने इच्छा समेत रहेको बताईन् ।

भारतीय टेलिभिजन एमटीभिबाट प्रशारण हुने रियालिटी सो ‘रोडिज एक्स टु’को सुटिङको लागि नेपालमा रहेकी इशाले नेपाली फिल्म हेर्ने इच्छा रहेको रहेता पनि समय नमिलेको बताउँदै नेपालबाट बलिउडमा रहेर अभिनय गर्ने कलाकारबाट आफु प्रभावित रहेको सुनाईन् ।
स्वर्गिय आलोक नेम्वाङ निर्देशित 'अझै पनि'को मंगलवार हुने प्रिमियरमा सहभागी हुन इच्छा देखाएकी इशाले व्यस्तता देखाउँदै शुभकामना दिईन् । उनी मंगलवार साँझ काठमाण्डौ आउँदैछिन् । लाजिम्पाटस्थित होटल सांग्रिलामा रहने र समय मिलेको खण्डमा 'अझै पनि' हेर्न आउने उनको भनाइ छ ।

भारतीय शहर फैजाबाद, अयोध्या, गोरखपुर हुँदै रुपन्देहीको सिमा नाका बेलहियाबाट रोडिज टोली लुम्बिनी आएको थियो । लुम्बिनीमा सुटिङ सकेर थप सुटिङका लागि टोली काठमाण्डौ आउँदै गर्दा चितवनको कुरिनटारमा प्रचारको लागी राजधानी बाहिर रहेको 'अझै पनि' युनिटसँग भेट भएको हो ।
देवलले 'अझै पनि' अभिनेत्रीद्धय पूजा शर्मा र सुरक्षा पन्तको सुन्दरताको तारिफ गरिन् । देवलका साथै बक्सिङ्ग खेलमा भारतका ओलम्पिक पदक विजेता समेत रहेका विजेन्द्र सिंह लगायत ‘रोडिज एक्स टु’का ११० सदस्यहरु नेपालमा छन् ।

