अनलाइन पत्रिका फिल्मीबजार डट कमले आज फिल्म तथा रंग पत्रकारिता क्षेत्रका विभिन्न फिल्मीकर्मी र पत्रकारलाई सम्मान गरेको छ । आफ्नो पहिलो बार्षिकोत्सवको अवसर पारेर पत्रकार र फिल्मीकर्मीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा लाइफ टाइम एचिभमेन्ट सम्मानबाट चर्चित निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरियो । उनलाई नगद ११ हजार सहित सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले सम्मान गरे ।
फिल्मीकर्मी सम्मानबाट नेपालकै प्रथम नायिका भूवन चन्दलाई ‘अग्रज कलाकार सम्मान’बाट सम्मानित गरियो । फिल्म पत्रकारिता सम्मानबाट पत्रिकातर्फ विदुर गिरी र टेलिभिजनतर्फ प्रकाश सुवेदी सम्मानित भए । फिल्मीखबर डट कमका प्रधान सम्पादक सुमन गैरेलाई अनलाइनका माध्यमले फिल्म क्षेत्रमा योगदान पुर्याएवापत सम्मान गरियो ।

नवप्रतिभा प्रोत्साहन सम्मानबाट अभिनेत्री शिल्पा पोख्रेललाई सम्मानित गरेपनि उनी कार्यक्रममा उपस्थित भइनन् । वितरक नरेन्द्र महर्जनलाई वितरक सम्मानबाट सम्मानित गरियो । गिनिज बुक अफ वल्ड रेकड्समा कान्छा फिल्म निर्देशकको किर्तिमान राखेका विश्वकै कान्छा निर्देशक सौगात बिष्टलाई प्रोत्साहन सम्मान प्रदान गरिएको थियो भने छायाँकार मञ्जुकुमार श्रेष्ठलाई ‘प्राविधिक सम्मान’ले सम्मानित गरियो ।


कार्यक्रममा विभिन्न कलाकारहरुले नृत्य तथा गायन प्रस्तुती दिएका थिए । कार्यक्रममा बोल्दै आइडियल मिडियाका अध्यक्ष श्याम सुन्दर गिरीले निष्पक्ष पत्रकारिताका लागि आफूहरु सधैं तयार हुने बताए । यता प्रमुख अतिथी बनेका सूचना तथा सञ्चार मन्त्री रिजालले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिंदै आयोजक मिडियालाई सफलताको शुभकामना दिए ।

