फिल्म 'नाईं नभन्नु ल' र त्यसको सिक्वेल 'नाईं नभन्नु ल २'लाई दर्शकले अत्याधिक रूचाएपछि निर्देशक विकास आचार्यले सिक्वेल बनाउन छाडेनन् । उनले 'नाईं नभन्नु ल'को अर्को सिरिज 'नाईं नभन्नु ल ३' निर्माण गरे जुन चैत्र २७ गते रिलिज हुँदैछ ।
.jpg)
निर्देशकद्धय विकास आचार्य (बायाँ) र मुस्कान ढकालको साथमा अभिनेत्री प्रियंका कार्की
'नशिव आफ्नो'बाट निर्देशनमा हात हालेका सफल स्क्रिप्ट राइटर बिकासले लगातार तीन सफल फिल्म दिए । 'नाईं नभन्नु ल' हिट भएपछि एकाएक चम्केका आचार्यले 'रिदम' र 'नाईं नभन्नु ल २' निर्देशन गरेर दर्शकको मन मात्र जितेनन् फिल्म नगरीमा सफल लेखकसँगै निर्देशकको पगरी पनि गुथे ।
उनै निर्देशक आचार्यले 'नाईं नभन्नु ल ३' भने निर्देशन गरेनन् । उनले आफ्नै सहायक निर्देशक मुस्कान ढकाललाई विश्वास गरेर निर्देशकको परिचय दिए । थुप्रै फिल्ममा सहायक निर्देशक बनेर अनुभव लिएका मुस्कानले 'नाईं नभन्नु ल ३'मार्फत निर्देशकको परिक्षा दिएका छन् । उनी पास हुन्छन् या फेल, चैत्र २७ गतेपछि थाहा हुनेछ ।
निर्देशक आचार्यको प्रतिष्ठा जोगाउँदै आफूले राम्रो फिल्म बनाएको दाबी मुस्कानले गरे । यता निर्देशक आचार्यले पनि 'नाई नभन्नु ल'को सिरिजको सबैभन्दा उत्कृष्ट 'नाईं नभन्नु ल ३' नै बनेको बताए । 'मुस्कान राम्रो निर्देशक हो भनेर यो फिल्मले पुष्टी गर्नेछ', निर्देशक आचार्यले भने । निर्देशक आचार्यले 'नाईं नभन्नु ल ३' आफ्ना विगतका फिल्मभन्दा सफल हुने दाबी गरे ।
पारिवारिक प्रेमकथामा बनेको यो फिल्मको गीत अहिले निकै चर्चामा छ । गीतकै कारण पनि फिल्म चल्ने उनको विश्वास छ । आउँदो बुधवार प्रोमो रिलिज हुने भनिएको यो फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुईटेल, सुरजसिंह ठकुरी, अनुभव रेग्मी, सफला भट्टराई, संयम पुरी, आस्मा डिसीलगायतको अभिनय छ ।

