हरि पराजुलीको पहिलो निर्देशकिय फिल्म `परिणाम`को छायांकन अन्तिम चरणमा पुगेको छ । भारतको दार्जीलिङ, सिक्किम र सिलिगुढीमा फिल्मको ७० प्रतिशत छायांकन सकिएको र बाँकी काठमाण्डौंमा गरिने निर्देशक पराजुलीले जानकारी दिए ।

त्रिकोणात्मक प्रेमकथा रहेको यो फिल्ममा मुकेश ढकाल, झरना रिसाल र सारिका घिमिरेको मुख्य भूमिका रहेको छ । कलेजमा अध्ययनरत युवा विद्यार्थी त्यसमा पनि धनी र गरिब बिचको समस्यालाई उजागर गरेर फिल्म बन्दै गरेको निर्देशक पराजुलीले बताए ।
`परिणाम` राखिनुअघि यो फिल्मको नाम ‘सुनामी’ राखिएको थियो । कथा अनुसार ‘परिणाम’ नै उपयुत्त हुने भएपछि नाम परिवर्तन गरिएको निर्माता समेत रहेका पराजुलीले जनाए । पराजुलीले यसअघि नेपाली पिल्म ‘प्रेमपथ’, ‘पहिरो’, ‘बिछोड’ र भोजपुरी फिल्म ‘साथीत्व प्यारमे’ र बंगाली फिल्म ‘यहि तो भालोवासा’ निर्माण गरेका थिए ।
कृष्ण बस्नेत र मित्र पराजुलीको संगीत रहेको ‘परिणाम’मा द्वन्द् निर्देशन एनबी महर्जनको छ । छायाङन शिव ढकालले गरिरहेका छन् भने नृत्य प्रिया पराजुलीको छ । नाम नै ‘परिणाम’ रहेको यो फिल्मको प्रदशर्नपछि कस्तो परिणाम आउने हो, हेर्न बाँकी छ ।

