बलिउडका अभिनेत्रीहरु अभिनयसँगै गायनमा पनि सक्रिय हुन थालेका छन् । अभिनेत्रीद्धय श्रद्धा कपुर र आलिया भट्टले आफू अभिनित फिल्ममा गीत गाइसकेका छन् । उनीहरुले गाएको गीतले राम्रै चर्चा पनि बटुलेका थिए । यो सूचीमा अभिनेत्री प्रियंका चोपडा पनि थपिइन् । उनले त अंग्रेजीमा एल्बम नै निकालेर विश्वमै चर्चा पाइन् ।
बलिउडमा अभिनेत्रीहरु गायिका बन्ने सूचीमा अब दीपिका पादुकोण पनि थपिएकी छिन् । दीपिकाले फिल्म‘तमाशा’मा गीत गाउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दीपिकाले अभिनय गरिरहेको सो फिल्मको हाल छायांकन भैरहेको छ । यो फिल्मलाई इम्तिहाज अलीले निर्देशन गर्दैछन् ।
दीपिकालाई फिल्मका लागि गीत गाउने अफर इम्तियाजले नै गरेका हुन् । निर्देशकको अफरबाट सुरुमा केही झस्किएकी दीपिका अहिले यसको तयारीमा लागेकी छिन् । ए आर रहमानले संगीत भर्ने गीतमा दीपिकाले आवाज दिन लागेकी हुन् । ए आर रहमानले दीपिकाले गीत गाउने तयारी गर्दै गरेको तस्बिर ट्विटरबाट सार्वजनिक पनि गरेका छन् ।

