अभिनेता आर्यन सिग्देललाई दोहोरो भूमिकामा देखाइएको फिल्म ‘होमवर्क’को छायांकन मंगलबारबाट सकिएको छ । निर्देशक निरक पौडेलले कडा मिहिनेतका साथ होमवर्क गरेकाले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।फिल्ममा आर्यन वृद्ध र यूवाको दोहोरो भूमिकामा देखिने छन् ।
आर्यनको वृद्ध रुपले फिल्म बजारमा खुबै चर्चा पाइरहेको छ । फिल्ममा आर्यनका साथमा नम्रता श्रेष्ठ, गौरी मल्ल, विजय लामा, जिपी तिमिल्सिनाको मुख्य भूमिका छ । फिल्मका दृश्यदेखि गीतका लागि महंगो सेट लगाइएको छ । फिल्मको कथावस्तु अनुसार कुनै पनि संझौता नहोस् भनेर आफूहरुले यस्तो गरेको निर्देशक तथा निर्माता निरक पौडेलले बताए ।
फिल्मको लागि बालाजु स्टूडियो, काठमाण्डौका विभिन्न स्थानका साथमा पोखरा, चितवनमा पनि सेट लगाइएको छ । उद्धव पौडेलको प्रस्तुतीमा निरक पौडेल, निरज पौडेल र निकिता पौडेलले निर्माण गरेको फिल्मलाई गोपिकृष्ण मुभिजको ब्यानरमा तयार पारिएको हो । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शिवम् अधिकारीको लेखन छ । शिक्षाको महत्व बुझाउने फिल्म दशैंको छेकोमा प्रदर्शनमा आउने चर्चा छ ।

