फिल्म ‘अझै पनि’ लाई अब हरेक उमेरका दर्शकले हेर्न पाउने भएका छन् । फिल्मको सोमबार सेन्सर भएको हो । चलचित्र सेन्सर बोर्डले ‘अझै पनि’लाई यूनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।
फिल्म हेरिसकेपछि विकास बोर्डका सदस्य समेत रहेका निर्देशक सुरेश दर्पण पोख्रेलले यसको खुलेर प्रशंसा गरे । उनले नेपाली फिल्म राम्रो हुँदैन भन्नेहरुका लागि अझै पनि एउटा गर्व गर्न लायक फिल्म बनेको बताए । निर्मात्री पूनम गौतमले फिल्मले मनोरञ्जनको साथमा सामाजिक सन्देश पनि दिने बताइन् ।
फागुन १५ गतेबाट प्रदर्शनमा आउने यो फिल्मलाई स्वर्गिय आलोक नेम्वाङले निर्देशन गरेका हुन् । प्रेम कथाको यो फिल्मले नारीको गहना सिन्दु र पोतेको पनि कथालाई नेपाली शैलीमा प्रस्तुत गरेको छ । फिल्ममा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विपना धिमाल, विजय लामा लगायतका कलाकारको अभिनय छ ।

