फागुन ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म इच्छाकि अभिनेत्री दिपशिखा शाहीले आफू व्यक्तिगत कामका लागि अल्झेकाले फिल्म प्रमोशनमा हिड्न नपाएको स्पष्टिकरण दिएकी छिन् । फिल्म युनिटले दिपशिखाले प्रमोसनमा साथ नदिएको सन्दर्भमा यस्तो स्पष्टिकरण आएको हो ।
निर्देशक मुनाल घिमिरेसँग सम्पर्क नहुँदा आफू हराएजस्तो देखिएको दाबी उनको छ । माघ २ गतेबाट फागुन ८ का लागि फिल्म सरेपछि दिपशिखा पनि मख्ख परेकी छिन् । अभिनेत्रीको साथ पाउँदा मुनाल पनि दंग देखिएका छन् । दिपशिखाले आफ्नो भूमिका फिल्ममा बोल्ड भएको भन्दै इच्छालाई बाबु र छोरीको सम्बन्धमा आधारित कथाको रुपमा ब्याख्या भनिन् । उनले यसअघि आफूले कुनै पनि फिल्ममा सोलो भूमिका नपाएकाले पनि दर्शकले आफूलाई चिन्न नसकेको बताइन् ।
दिपशिखाले इच्छा नेपाली फिल्म भएकाले यसलाई नेपाली आँखाले नै हेर्न दर्शकलाई आग्रह गरिन् । ‘हाम्रोमा बलिउड र हलिउडको आँखाले नेपाली फिल्म हेर्ने सोच रहेको छ । त्यसरी हेर्दा नेपाली फिल्म कमजोर लाग्छन् । तर नेपाली फिल्मको बजारलाई हेरेर नेपाली फिल्म हेर्ने हो भने चित्त बुझाउने ठाउँ छ,’ दिपशिखाले भनिन् । मुनाल घिमिरेले निर्देशन गरेको यो फिल्ममा सुवास थापा, दायाहाङ राईको पनि मुख्य भूमिका छ ।

