फिल्म मिसन पैसा २ का निर्माता मध्येका एक माधव वाग्लेले आफ्नो फिल्म ढिलो आउनुको दोष निर्देशक सिमोस सुनुवार माथि थोपरेका छन् । आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा निर्माता वाग्लेले किन फिल्म ढिलो चल्यो भन्ने पत्रकारको प्रश्नमा भने, यो सबैको जिम्मेवारी निर्देशकले लिनुपर्छ । उहाँकै कारणले गर्दा फिल्म समयमा रिलिज हुन सकेन ।
प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्ममा नरेन्द्र महर्जन र माधव वाग्लेको लगानी छ । फिल्ममा रेश महरठ्ठा, आमिर गौतम, हर्षिका श्रेष्ठ, निशा अधिकारी मुख्य भूमिकामा छन् । कार्यक्रममा फिल्ममा चारै जना कलाकार उपस्थित थिए । अभिनेत्री हर्षिका श्रेष्ठले फिल्ममा आफ्नो बोल्ड भूमिका भएको भन्दै दर्शक तथा मिडियाले यसरी नै चिनिदिएकोमा आफूलाई खुशी लागेको बताइन् । कलाकार रेश महरठ्ठाले लामो समयपछि फिल्म रिलिज भएपनि राम्रो बनेको बताए । यस्तै, अर्का कलाकार आमिर गौतमले फिल्मको एक्सन तारिफयोग्य भएको भन्दै दर्शकले नयाँ स्वाद पाउने बताए ।
निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनको जुहारी कार्यक्रममा रोचक बनेको थियो । निर्माता वाग्लेले नरेन्द्र महर्जनलाई आफूले निर्माताको रुपमा चिनाएको भनेपछि नरेन्द्रले पनि माधवलाई आफूले यो क्षेत्रमा ल्याएको बताए । नरेन्द्रले आफू वितरकको रुपमा अगाडि बढ्दा माधवलाई साथ दिन फिल्ममा लगानी गरेको भन्दै फिल्म हिट भएपछि निर्माताको रुपमा पनि चिनिएको बताए ।
दुई जना निर्माता छुट्टिन लागेको बिषयमा बोल्दै माधवले भने, यहाँ श्रीमान् श्रीमती त बिहेको दिनमा नै अलग हुन्छन्, नरेन्द्र को हो र ?
नरेन्द्रले निर्माणसँगै नयाँ व्यवसाय सुरु गरेकाले काम गर्न गाह्रो भएको आशय माधवको थियो । फिल्म मिसन पैसा २ फागुन १५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
यो फिल्ममा ३ गीत समावेश छन् । स्वर्गिय पाण्डव सुनुवारको आकाशैमा चिल उड्यो र चाँचरी बोलको गीतको रिमिक्स भर्सनलाई फिल्ममा समावेश गरिएको छ ।

