फेसन डिजाइनर भएकै कारणले हुनसक्छ, निर्मात्री पूनम गौतमले आफ्नो नयाँ फिल्म अझै पनिको प्रचार पनि फेसन सम्बन्धी कार्यक्रममा धेरै गरिरहेकीछिन् । कायरा बुटिकको आयोजनामा शनिबार प्रेम दिवसको अवसर पारेर आयोजना गरिएको ‘भ्यालेन्टाइन रन वे’ कार्यक्रममा उनले यो फिल्मको नयाँ तरिकाले प्रचार गरिन् ।
फिल्मका मुख्य कलाकार सुरक्षा पन्त र पुष्प खड्काले स्टेजमै मायाको डोरी वाँधे । फिल्मी शैलीमा पुष्पले सुरक्षालाई प्रेम प्रस्ताव राखे । स्टेजमा कलाकार सुदर्शन थापा, पूजा शर्मा पनि देखिए । निर्मात्री पूनम गौतमले निर्माता तथा कलाकार सुदर्शन थापासँग स्टेज बाँडिन् ।

पूनमले फिल्मको प्रदर्शन मिति नजिक आउँदा आफूमा उत्साहासँगै कौतुहलता बढेको बताइन् । कलाकार तथा निर्माता सुदर्शन थापाले स्वर्गिय निर्देशक आलोक नेम्वाङको यो फिल्म हरेक दृष्टिकोणबाट उत्कृष्ट रहेको बताए । फागुन १५ गतेबाट प्रदर्शनमा आउने यो फिल्मले प्रेमको कथालाई देखाएको छ ।

