फिल्म चल्न के हुनुपर्ला ? कलाकारको क्रेज, फिल्मको गतिलो कथावस्तु, हिट गीत वा के त ? यतिबेला नेपाली फिल्मका लागि सबै फर्मुला असफल जस्तै देखिएका छन् ।
मंसिरमा चलेका सबैजसो फिल्म असफल रहे । मंसिर ५ मा प्रदर्शनमा आएका 'श्री ५ अम्बरे' र 'हमजाएगा' सोचे अनुरूपले चलेनन् । मंसिर १२ को 'मेन्टल' पनि चलेन । मंसिर १९ मा आश गरिएका 'नाइके' र 'रंग बैजनी'ले पनि कमाल देखाएनन् । मंसिर २८ मै चलेको 'लभ यू बाबा' असफल भयो ।
पौषमा चलेका 'विधुवा', 'जिन्दगी रक्स', 'माइ प्रमिस' पनि चलेनन् । पौष २५ मा प्रदर्शनमा आएका ३ आशातित फिल्म 'तथास्तु', 'आभाष' र 'अलबिदा' नचलेरै बिदा भए । यी तीनै फिल्म सर्वाधिक प्रचार गरिएका र नेपालका स्टार कलाकारको अभिनय रहेको फिल्म हुन् ।
यो क्रम माघ महिनामा पनि रोकिएन । माघको सुरुवातमै प्रदर्शनमा आएको 'आगो २' र 'सोल सिस्टर' पनि चलेन । माघ १६ मा प्रदर्शनमा आएको 'सम्बोधन'ले पनि बक्स अफिसमा कुनै कमाल गरेन । माघ २३ मा चलेका 'लोग्ने मान्छे', 'रथ', 'स्केप' र 'सुनपानी' फिल्म हेर्न दर्शक आएनन् ।
कात्तिक २८ गते चलेको 'जेरी' पछि चलेका सबै फिल्मले व्यापारिक रुपमा असफलता व्यहोर्दा नेपाली फिल्म बजार कतातर्फ जाँदैछ भन्ने सोच्नु परेको छ । ३ महिनामा सबै फिल्म चिलिम हुँदा फिल्म क्षेत्रमा पुन: एक पटक नैराश्यता छाएको छ ।

