आगामी फागुन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पुनर्जन्म’ले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर र एक गीत सार्वजनिक गरेको छ ।


कार्यक्रममा फिल्मका निर्माता मोहनकृष्ण श्रेष्ठले फिल्मले द्वन्द्वकालमा सैनिकको परिवारमा घटेको घटनालाई यथार्थपरक रुपमा फिल्ममा प्रस्तुत गरिएको जानकारी दिए ।
अभिनेता आर्यन सिग्देलले फिल्मले व्यावसायिकता भन्दा पनि सत्यपरक विषयलाई उठान गरिएको बताए । ‘यो फिल्मले नयाँ पुस्तालाई नेपालमा भएको द्वन्द्वले सैनिकको परिवारमा पारेको प्रभावलाई प्रस्तुत गर्नेछ', उनले भने ।
अर्का अभिनेता गजित विष्टले सैनिकको जीवनमा द्वन्द्वले पारेको प्रभावसँगै फिल्मले कार्यक्षेत्रमा सैनिकको साथीभाईप्रतिको भावना र मायाप्रेमलाई समेटेको जनाए । अभिनेत्री केकी अधिकारीले सैनिक अधिकृतको जीवनमा आउने उतारचढाव र त्यसले उसको वैवाहिक जीवनमा पार्ने प्रभावलाई फिल्मले प्रस्तुत गरेको बताईन् ।
फिल्मका निर्देशक सजन श्रेष्ठले शुरुमा सर्ट फिल्म बनाउन लागेपनि त्यसको कथालाई नयाँ तरिकाले प्रस्तुत गरेर फिल्म बनाएको खुलाए । निर्देशक श्रेष्ठले फिल्म सत्यघटनामा आधारित भए पनि कुनै व्यक्ति विशेषको घटनालाई भने प्रस्तुत नगरिएको जनाए ।
मोहनकृष्णसँगै भद्रबहादुर शाहीको समेत लगानी रहेको फिल्ममा सुस्मिता शाही, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनालको पनि मुख्य अभिनय रहेको छ ।
सुदर्शन श्रेष्ठको कथा र पटकथा रहेको फिल्ममा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

