एमाओवादीका नेता तथा पूर्व उप-प्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा 'अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५’को उद्घाटन गरेका छन् । अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा शुक्रबार सुरु भएको कार्यशालाको महराजले फिल्मी शैलीमा उद्घाटन गरेका हुन् ।

महराले एक्सन कट भन्दै कार्यशालाको उद्घाटन गरे । उनले फिल्मीकर्मीसँग हरेक किसिमको सहकार्य गरेर अघि बढ्न आफू तयार भएको बताए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी समेत रहेका सभासद महराले रोल्पा जिल्लामा फिल्ममा समेटिन सक्ने थुप्रै सम्भावना बोकेका गन्तव्यहरु भएकाले त्यसको पहिचान गर्दै फिल्म सिटीको रुपमा रोल्पालाई स्थापिन गर्न कार्यशाला सफल हुनेमा ढुक्क रहेको बताए ।
नेपाली फिल्मको नयाँ आन्दोलनको रुपमा यो कार्यशालालाई लिइएको अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केपी पाठकले बताए । यो कार्यशाला ९ दिनसम्म चल्नेछ । कार्यशालामा भाग लिनका लागि काठमाण्डौबाट ६० जना फिल्मकर्मी र पत्रकार रोल्पा पुगेका छन् ।
भारतबाट आएका फिल्म विशेषज्ञ सेखर दास र सिनेम्याटोग्राफर सन्नी जोसेफ, इजिप्टबाट आएकी फिल्म प्रशिक्षक एलाइसी हगागले नेपाली फिल्मीकर्मीलाई प्रशिक्षण दिनेछन् । उद्घाटन सत्रमा लेखक तथा निर्देशक ओम प्रतिक र कुलानन्द गिरीलाई रोल्पाको संकृती विकासका लागि योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।

