पहिलो फिल्म निर्माण गर्दा नै निर्माता पूनम गौतमलाई भ्याईनभ्याई भएको छ । फिल्म प्रचारमा उनी लागेको नै ६ महिना भैसकेको छ । ६ महिनाको उनको मिहिनेतलाई दर्शकले कसरी लिने हुन्, फागुन १५ गते थाहा लाग्नेछ ।

पूनम आफू एउटा फिल्म बनाएर थकित बन्न नआएको बताउँछिन् । पूनमलाई लाग्छ, यो क्षेत्रमा बुझेर आउनुपर्छ । उनी बुझेरै फिल्ममा आएको दाबी गर्छिन् । फिल्म 'अझै पनि' निर्माण गरेकी पूनम आफू लामो समयसम्म यही क्षेत्रमा लाग्न आएको बताउँछिन् ।
हालै मात्र उनी चितवन पुगेर फिल्मको प्रमोशनमा व्यस्त भइन् । चितवनमा गरिएको प्रमोशनले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढेको उनको भनाई छ ।
६ महिनादेखि उनले कलेजदेखि फेशनका कार्यक्रम छाडेकी छैनन् । कुनै न कुनै तबरले 'अझै पनि'लाई स्थान दिइरहेकी छिन् । फिल्म प्रचारको एउटा नयाँ शैली आफूले अपनाएको उनको वुझाई छ ।
सुदर्शन थापा प्रोडक्शनको समेत लगानी रहेको यो फिल्मलाई स्वर्गिय निर्देशक आलोक नेम्वाङले निर्देशन गरेका हुन् । फिल्ममा सुदर्शन थापा, पूजा शर्मा, पुष्प खड्का, विमला धिमाल, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ ।

