अभिनेत्री करिश्मा मानन्धर १२ बर्षपछि फिल्म निर्माणमा फर्किएकी छिन् । करिश्माले निर्माण गर्न लागेको नयाँ फिल्मको नाम 'फागु' राखिएको छ ।

फिल्मको आज काठमाण्डौमा शुभसाइत गरिएको छ । नेपाली फिल्म क्षेत्रका फिल्मीकर्मी र पत्रकारहरुको बाक्लो उपस्थितीमा फिल्मको शुभसाइत गरियो । 'फागु'लाई जीवनको रङ्गिन पलसँग जोडिएको छ ।
फिल्मको शुभसाइत कलाकारले संवाद बोलेर गरियो । कलाकारहरु बसन्त भट्ट, गौरी मल्ल, सुवास पराजुली र शिल्पा पोख्रेलले फिल्मको संवाद बोले । फिल्मको शिर्ष भूमिकामा अभिनेत्री शिल्पा पोख्रेलले काम गर्दैछिन् । यही फिल्मबाट करिश्माले नव–अभिनेताको रुपमा सुवास पराजुलीलाई भित्राएकी हुन् ।

कार्यक्रममा बोल्दै अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले सबैको साथले आफ्नो नयाँ फिल्म सफल हुने विश्वास व्यक्त गरिन् । करिश्माका पति एवं निर्माता तथा कलाकार विनोद मानन्धरले फिल्म क्षेत्रका सहकर्मीहरुले हौसाएर आफूहरु लामो समयपछि लगानीमा फर्किएको बताए ।
सम्झना रौनियारको निर्देशन, हिमाल केसीको द्धन्द्ध, रामशरण उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, कमल राईको करियोग्राफी यो फिल्ममा रहने छ । तराई भेगको पृष्ठभूमीमा आधारित रहेर निर्माण हुन लागेको फिल्मको सुटिङ फागुनको पहिलो साताबाट गरिने छ ।


