Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन फिल्मको व्यापार | `मेरो गोरूको बार्‍है टक्का`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/10
फिल्मको भिडन्त गर्दा आफ्नो राम्रो भएको दाबी गर्नु र प्रदर्शनमा आएपछि मेरै फिल्मले अरुलाई उछिनेको छ भन्नु नेपाली फिल्मका निर्माताका लागि नयाँ कुरा होइन । अझ भनौं, 'मेरो गोरूको बार्‍है टक्का' । 
 
 
शुक्रबारबाट प्रदर्शनमा आएका तीन फिल्म 'तथास्तु', 'अलबिदा' र 'आभाष'का निर्माताले यो दाबीलाई कायमै राखेका छन् । सविर श्रेष्ठको निर्देशनमा बनेको 'तथास्तु', हसन खानको निर्माणमा बनेको 'अलबिदा' र गोविन्द शाहीको निर्माणमा बनेको 'आभाष'को व्यापारिक दाबी यस्तै छ ।
 
काठमाण्डौ लगायत देशभरका हलमा प्रदर्शनमा आएका यी ३ फिल्मले राम्रो व्यापार गरेको निर्माताहरु दाबी गर्छन् । उसो त नेपाली फिल्मको व्यापार हलमाभन्दा पनि हल्ला र फेसबुकमा बढी हुने गरेको छ ।  
 
फिल्म 'तथास्तु'का वितरक गोपाल कायस्थ व्यापारमा आफ्नो फिल्म अगाडि रहेको बताउँछन् । उनले शुक्रबार र शनिबार फिल्मले देशैभरी आक्रामण व्यापार गरेको बताए । अभिनेत्री रेखा थापा आज काठमाण्डौका विभिन्न हलमा पुगेर दर्शकसँगै 'तथास्तु' हेरिन् । दर्शकसँग खुसी साटिन् । 
 
यता फिल्म 'आभाष'का निर्माता गोविन्द शाही पनि दंग छन् । उनले शुक्रबार र शनिबार काठमाण्डौ लगायत देशैभरि आफ्नो फिल्मको व्यापार हाउसफुल रहेको बताए । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्ममा संयम पुरी, सलोन बस्नेत, निशा अधिकारी, आश्मा डीसीको मुख्य भूमिका छ । फिल्मको कथावस्तुलाई दर्शकले रुचाएको भन्दै गोविन्दले आफू सुरक्षित रहने दाबी गरे ।
 
फिल्म 'अलबिदा'ले अन्य फिल्मको तुलानामा कमजोर व्यापार गरेको समाचार विभिन्न मिडियामा आइरहेको छ । तर, निर्माता हसन खान यसलाई मान्न तयार छैनन् । उनले फिल्म हेर्ने सबै दर्शकले फिल्म मन पराएको भन्दै व्यापारले आफू सन्तुष्ट रहेको दाबी गरे । 
 
३ वटै फिल्म एकसाथ जुध्दा सबैलाई घाटा परेको देखिन्छ । तर, निर्माताहरु भने हल्लाको व्यापारले मख्ख पर्दै भित्र भित्र निराश हुने अवस्था छ । अब निर्माता नै व्यापारबाट खुसी छन् भने हामीलाई भन्नु के नै छ र ?  
Most Visited News (monthly)