सन् २०१५ बलिउड नगरीका लागि व्यापारका हिसाबले सुखद होला या नहोला, समयले नै बताउनेछ । तर, बलिउडमा यो बर्ष ४ खान ५० बर्षमा लाग्दैछन् । जसका कारण पनि बलिउडले यो बर्ष सेलिब्रेशनलाई महत्व दिनेछ ।

बलिउडकी सफल निर्देशक तथा कोरियोग्राफर फराह खान आजबाट ५० बर्षमा लागेकी छिन् । उनले जन्मदिनको अवसरमा आफ्नै निवासमा भव्य पार्टी दिएकी छिन् । यो पार्टीमा बलिउडका अधिकांश कलाकार उपस्थित भएका भए ।
कट्रिना कैफ, दीपिका पादुकोण, ऐश्वर्या राय, मलाइका अरोरादेखि अभिषेक बच्चन, अनुपम खेर, रितेश देशमुख, करण जोहर पार्टीमा देखिए । कलाकारहरुले पार्टीमा खुलेरै मस्ती गरेका थिए ।

जनवरीबाट सुरु भएको कलाकारको ५० बर्षको सेलिब्रेशन डिसेम्बरसम्म जारी रहनेछ । बलिउडका अर्का चर्चित खान अभिनेता आमिरले मार्च महिनामा ५० औं जन्मदिन मनाउँदैछन् । यस्तै बलिउडका बादशाह साहरुख खानले नोभेम्बर महिनामा आफ्नो ५० औं जन्मदिन मनाउदैछन् । साहरुखले ५० औं जन्मदिनलाई विशेष रुपमा मनाउने उद्घोष गरिसकेका छन् ।
आमिर र साहरुख ५० बर्ष टेकेपछि पालो सलमान खानको हो । सलमानले डिसेम्बर महिनामा आफ्नो ५० औं बर्षगाँठ मनाउँदैछन् । जसका कारण पनि बलिउडका लागि यो बर्ष ५० औं बर्षको जन्मदिन बिशेष हुने देखिन्छ ।

