गुरुङ भाषा र संस्कृति । गुरुङ नै निर्देशक, निर्माता, कलाकार र प्राविधिकहरु । र, प्रदर्शन पनि गुरुङ समुदायबीच मात्रै । भाषिक र सांस्कृतिक फिल्मको केन्द्र मानिने पोखरामा वार्षिक गुरुङ संस्कारमा आधारित नेपाली फिल्महरु २० वटा भन्दा बढि बन्दै आएका छन् ।
पछिल्लो समय अझै फिल्म बन्ने क्रम बढ्दो छ । च्यारिटि शोमा मात्रै सिमित हुँदै आएका गुरुङ फिल्महरु आफ्नो समुदायको वर्चश्व रहेको ठाउँमा मात्रै प्रदर्शन हुँदै आएको छ । पछिल्लो समय त झन् गुरुङ संस्कारमा रहेर नेपाली भाषामै यस्ता फिल्महरु निर्माण हुने क्रमले तिव्रता पाएको छ ।
नेपाली भाषामा फिल्म बनिरहँदा पनि यी फिल्महरुको प्रदर्शन भने गुरुङ समुदायमा मात्रै सिमित छन् त ? गुरुङ फिल्म एशोसियसनका सल्लाहकार समेत रहेका फिल्म निर्देशक माओत्से गुरुङ भन्छन्– ‘समुदायमा मात्रै सिमित भन्ने कुरा एउटा आरोप हो जस्तो मलाई लाग्छ । खासगरी हामीले सबैखाले दर्शकका लागि फिल्म बनाएका हुन्छौँ ।’
माओत्से गुरुङले यसो भनिरहँदा पनि कतिपय गुरुङ संस्कृतिका फिल्मकर्मीहरु भने आफ्नो समुदायमा फिल्मको टिकट लिएर हिडिँरहेकै छन् । च्यारिटि शोमा मात्रै सिमित यस्ता फिल्महरु खासै घाटामा भने जाँदैनन् ।
माओत्से गुरुङ थप्छन्– ‘हामीले बनाउने फिल्म सबैखाले दर्शकको लागि हो । तर, नेपालमा फिल्म प्रदर्शन गर्ने प्रणाली, वितरकले फिल्म चलाउन टाउको खोज्ने बानी, हलवालाले सांस्कृतिक फिल्मलाई शो नदिने र सरकारी नीति जस्ता कारणले हामीले हाम्रा फिल्मको बजारिकरण गर्न सकिरहेका छैनौँ ।’
खासगरि गुरुङ फिल्महरु सिमित बजेटमा बनाउनुपर्ने भएकोले पनि राष्ट्रियस्तरमा अरु फिल्मसंग प्रतिस्पर्धामा उत्रिन नसकेको उनी स्विकार्छन् ।
पोखरामा बन्ने गुरुङ संस्कृतिका फिल्महरु १० देखि २० लाख रुपैँयामा निर्माण पुरा भैसक्छन् । कतिपयले त ५० लाख सम्म पनि खर्च गर्ने गरेका छन् । यस्ता फिल्महरुले गुरुङ समुदाय धेरै भएको नेपालका विभिन्न स्थान र विदेशमा गरिने शोबाट लगानी रिकभर गर्दै आएका छन् ।
धेरै खर्च गरेर राष्ट्रियस्तरमा चलेका फिल्महरु पनि डुबिरहेको अहिलेको अवस्था देखेर गुरुङ सँस्कारमा आधारित रहेर फिल्म बनाउने मेकर्सहरु मुलधारमा आउन नसकेको जानकारहरु बताउँछन् ।
हङकङ, यूके, जापान, कोरिया, अमेरिका जस्ता मुलुकहरुबाट यस्ता फिल्मले अरु मुलधारे फिल्मभन्दा राम्रो कलेक्शन गर्ने गरेका छन् । गुरुङ संस्कृतिमा आधारित फिल्म भ्रेँ (पाहुना)ले हङकङबाट मात्रै २५ लाख रुपैँया उठाएको रेकर्ड छ । सो फिल्मको समग्र कलेक्शन करिब ५० लाख रहेको छ । तर, राष्ट्रियस्तरमै फिल्म चलाउँदा यस्तो संभावना कम रहेको भन्दै गुरुङ फिल्म मेकर्सहरु अगाडि आउन सकिरहेका छैनन् ।
फिल्म निर्देशक कृष्णकुमार गुरुङ भन्छन्– ‘हामीले आन्तरिक रुपमा बजार विस्तार गरिरहेकै छौँ । वैदेशिक बजार हेर्ने हो भने हामी धेरै माथि छौँ । तर, नेपालका दर्शकहरुमा गुरुङ फिल्म भनेर नाक खुम्च्याउने परिपाटी रहेका कारण हामी राष्ट्रियस्तरमा आउन सकिरहेका छैनौँ । त्यसैमाथि सरकारी संयन्त्रले पनि हामीलाई प्राथमिकता दिईरहेको छैन ।’
त्यसो त फिल्मको कुनै भाषा र संस्कारको मात्रै भन्ने हुँदैन । विश्वबजारमा हेर्ने हो भने धेरै भाषा र संस्कृतिका फिल्महरुले आफुलाई बजारिकरण गरिरहेका छन् । संस्कारको विशेषता र फरक कथावाचन शैलीका कारण कोरियन, ईरानी फिल्महरु विश्वबजारमा विकाऊ फिल्महरुमा पर्छन् । भाषाका कारण यस्ता फिल्महरु बजारिकरण हुनबाट रोकिएका छैनन् । गुरुङ फिल्म मेकर्स पनि यसबारे सोच्ने की ?