मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन रातो साडीमा हिँडिरहेकी छिन् केकी ?

फिल्मीखबर, काठमाडौं, 2024/04/23

महिलाले साडी लगाउनु सामान्य मानिन्छ । अहिले त विवाहित हुन् वा अविवाहित, साडी लगाउने ट्रेन्ड नै छ । तर, अभिनेत्री केकी अधिकारी केही दिनयता नवविवाहित दुलहीझैँ रातो साडी र पहेँलो पोतेमा सिंगारिएर मिडियामा प्रस्तुत भइरहेकी छन् । यसले भने धेरैलाई आश्चर्यमा पारेको छ । किनभने, कुनै विशेष कार्यक्रमबाहेक उनी साडीमा विरलै देखिन्छिन् । तर, यतिबेला उनी विवाहपछि माइत फर्किन लागेकी दुलहीझैँ रातो साडीमा अन्तर्वार्ता दिँदै हिँडिरहेकी छन् ।

यसको पछाडिको रहस्य उनी अभिनीत तथा निर्मित फिल्म ‘बोक्सीको घर’सँग जोडिएको छ । फिल्मको ट्रेलरमै उनी रातो साडीमा देखिएकी छन् । उनी कथित बोक्सीको भूमिकामा छिन् । रातो साडीलाई फिल्ममा विम्बको रुपमा प्रयोग गरिएको छ । यसैले केकी फिल्मको थिमअनुसार प्रचारमा पनि रातो साडी लगाएर प्रस्तुत भइरहेकी हुन् । यसले फिल्मप्रति दर्शकमा पनि चासो बढाएको देखिन्छ ।

 

keki adhikari


रातो साडीको विशेषताबारे एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘यो हामीले सुन्दै आएको कथा र अन्धविश्वाससँग जोडिएको छ । किचकन्डी र बोक्सी भनेर छुटाइन्छ । किचकन्डी चाहिँ सेतो लुगामा देखिने र मृत भइसकेको आत्मा आएर तर्साउने कथा बनेको रहेछ । बोक्सीसँग सम्बन्धित चाहिँ कस्ता कथा छन् भने पूर्णिमा या औंसीको दिन शक्ति प्राप्त गर्न विशेषगरी विवाहित महिलाले रातो साडी लगाएर बोक्सीको विद्या लिन्छन् भन्ने छ । पूर्णिमा या औंसीमा पिपलको बोटमा पूजा गर्ने र अजंगको पिपलको बोट उचालेर काशीमा डुबाएर लिएर आउन सक्ने भनेर त्यो क्यारेक्टरलाई ‘डेभलप’ गरिएको छ ।’

उनलाई यो कथा कहाँबाट र कसले कल्पना गर्‍यो थाहा छैन । यदि यसको सम्बन्ध महिलाको हिंसासँग नभएको हुन्थ्यो भने यो हनुमान जत्तिकै शक्तिशाली क्यारेक्टर हो भन्ने उनलाई लाग्छ । तर, त्यसलाई समाजले अन्तैतिर लैजानु उनी दुर्भाग्यपूर्ण मानिन्छ । यसले गर्दा नै ‘बोक्सीको घर’ बनेको उनको तर्क छ ।  

छायांकनको बेला आफ्नो हुलिया र मनोदशा बेग्लै रहेको केकी स्मरण गर्छिन् । अघिल्ला फिल्मभन्दा यसमा फरक हिसाबले काम गरेको उनको अनुभव छ । ४/६ महिना क्यारेक्टरमा बसेर काम गरेको भोगाई सुनाउँदै उनी भन्छिन्, ‘त्यो पात्रको मनोदशा महसुस गर्न असाध्धै गाह्रो थियो । एउटा नाटकीय ढंगले गुज्रिएको पात्र, जो समाजमा बस्दैन, १०/१५ वर्षदेखि बोक्सीको आरोप लागेको छ, उसले कसरी सोच्छ होला भन्ने मनोदशामा काम गर्नपर्ने थियो । यो मेरो लागि एकदमै चुनौतीपूर्ण थियो ।’

यही बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘बोक्सीको घर’लाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । उनी स्वयं फिल्ममा केकीको श्रीमानको भूमिकामा प्रस्तुत छन् । रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको फिल्ममा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता हुन् ।