गत मङ्सिर २० बाट छायांकन प्रारम्भ भएको फिल्म 'हाउ फन्नी'को छायाँकन सकिएको छ । ३ गीतको सुटिङ बाँकी राखेर २५ दिनका दिन गत आईतवार फिल्मको इण्डक्ल्याप गरिएको हो ।



मौसमको कारणले गर्दा ३ गीतको सुटिङ तत्कालका लागि स्थगित गरिएको निर्देशक निलु डोमा शेर्पाले बताईन् । अन्तिम दिनको छायाँकनमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारीले अभिनय गरे । फिल्ममा प्रियंका र केकिलाई जासुसको भूमिकामा देख्न सकिन्छ ।
यसै फिल्मबाट कार्यकारी निर्माता रुपमा नेपाली फिल्ममा प्रवेश गरेकी माल्भिका सुब्बाले टीमवर्क मिल्दा काम गर्न निकै सजिलो भएको बताईन् ।साथै फिल्म निर्माणको अनुभव आफ्ना लागि निकै नौलो रहेको समेत बताईन् । 'शुरूमा अरुको कुरा सुनेर निकै आतिएको थिएँ तर काम गर्दै जाँदा सबैको साथ र सहयोगले निकै सहज भयो', सुब्बाले भनिन् ।
कुनै एक धनाढ्य व्यापारीकी एक मात्र छोरी हराएसँगै फिल्मको कथा शुरू हुने जानकारी दिंदै निर्देशक डोल्माले भिन्न सोच भएका दुई युवतीको जासुसीले फिल्मको कथालाई नयाँँ मोड दिने जानकारी गराईन् । फिल्मलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ । शान बस्न्यातको लेखन रहेको यो फिल्ममा आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको पनि लगानी रहने छ ।
प्रियंका कार्की, केकी अधिकारी, दयाहाङ राई, अनुप बिक्रम शाही, निशा अधिकारी, शिशिर राणालगायतको अभिनय रहेको यो फिल्मलाई हरि हुमागाईले खिचेका हुन् भने संगीत सुरेस अधिकारी, शैलेस सिङ र शलेन्द्र श्रेष्ठको रहेको छ । दर्शना आर्ट्सले फिल्मलाई वितरण गर्नेछ ।

