नेपालमा यतिबेला श्रीमान श्रीमतीको सम्बन्धको बिषयमा फिल्म बन्ने क्रम बढेको छ । माघमा मात्र ३ वटा यस्तै बिषयका फिल्म हलमा लाग्नेछन् ।

माघ २ मा चल्ने 'इच्छा' र माघ २३ मा चल्ने 'लोग्ने मान्छे'ले श्रीमान श्रीमतीको सम्बन्धको कथा बोकेका छन् । अब यो भिडमा फिल्म 'रथ' पनि थपिएको छ ।
माघ २३ गते नै प्रदर्शन हुन लागेको यो फिल्मले श्रीमान श्रीमती भनेका एक रथका २ पांग्रा हुन् भन्ने कथालाई उठान गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको टिजर सार्वजनिक गरियो ।
कैलाश अधिकारीको निर्देशनमा बनेको यो फिल्ममा विशाल पोख्रेल, आरजु अधिकारी, विनय भट्ट, शर्मिला राई लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा श्याम लावत, राजु सिपाल, दीपेन्द्र धिताल, अजित राईको लगानी रहेको छ ।
'रथ'ले दर्शककलाई पूर्ण रुपमा सन्तुष्ट बनाउने यसका कलाकार विशाल पोख्रेलले बताए । यस्तै निर्देशक अधिकारीले आफूले १२ बर्षसम्म सहायक निर्देशक भएर गरेको अनुभव यो फिल्मको निर्देशनमा खन्याएको जानकारी दिए ।

