दर्शकले अझै पनि 'दर्पण छायाँ' फिल्म र सोही फिल्मका अभिनेता दीलिप रायमाझीलाई बिर्सन सकेका छैनन् । कुशल अभिनेता रायमाझी जस्तो अभिनय र नृत्य गर्ने कलाकारको संख्या नेपाली फिल्ममा सायदै धेरै नहोला । तर, आफ्नै ब्यानरमा फिल्म 'मिस यू' बनाएपछि दीलिप हराए ।
दीलिप अब पर्दामा फेरि रमाउने तयारीमा लागेका छन् । उनले अभिनय गरेको फिल्म 'विधुवा'ले बक्स अफिसमा कमाल देखाउन सकेन । पछिल्लो समय चल्न नसकेका दीलिप अब पर्दामा 'लोग्ने मान्छे' भएर फर्कदैछन् ।
दीलिपका लागि 'लोग्ने मान्छे' महत्वपूर्ण छ । उनले यो फिल्ममा आफू सशक्त रूपमा प्रस्तुत भएकाले दर्शकको नजरमा बस्न सक्ने बताए । फिल्ममा दीलिप घरमा श्रीमती हुँदाहुँदै बाहिरी यूवतीसँग सल्कने लोग्ने मान्छेको भूमिकामा देखिएका छन् ।
प्रदिप मित्तलको निर्माणमा लय संग्रौलाले निर्देशन गरेको 'लोग्ने मान्छे' माघ २३ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा दीलिपलाई नन्दिता केसीले साथ दिएकी छिन् । 'लोग्ने मान्छे' पछि दीलिपको 'गोरे' फिल्म प्रदर्शनमा आउनेछ ।

