बलिउडका चर्चित अभिनेता शत्रुघ्न सिन्हा यतिबेला काठमाण्डौमा छन् । नयाँँ बर्ष मनाउन र पशुपतीनाथको दर्शन गर्न पत्नी पुनमको साथमा बुधवार उनी नेपाल ओर्लेका हुन् । हाल उनी होटल द्धारिकाजमा बसेका छन् ।

त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै शत्रुघ्नले आफ्नो गृहनगरभन्दा नेपाल सुगन्धित महसुस गरेको प्रतिकृया दिए । उनले भने, 'गृहनगर पटनाको विमानस्थल ओर्लिंदाभन्दा नेपालको विमानस्थल ओर्लिंदा म बढी सुगन्धित महसुस गर्छु ।'
३० पटक नेपाल आईसकेका शत्रुघ्नले पशुपतीनाथको मन्दिर भएरपनि नेपालको हावा सुगन्धित हुनसक्ने बताए । जतिपटक नेपाल आएपनि मन नभरिने उनको भनाई थियो । उनले आफ्नो घरमा भन्दा नेपालमा आनन्दित महशुस गर्ने बताए ।
बलिउडमा सफलताको शिखर चुमेरहेकी अभिनेत्री सोनाक्षी सिन्हाका पिता शत्रुघ्न एक समयका सफल अभिनेता हुन् । राजनीतितिर मोडिएपछि उनको फिल्मी यात्रा अगाडी बढ्न नसकेको हो । बिहारबाट लोकसभा चुनावमा विजयी बनेपछि सन् २००३ मा उनी अटलबिहारी बाजपेयीको मन्त्रिमण्डलमा स्वास्थ्य मन्त्री बनेका थिए ।

