अभिनेता श्रीकृष्ण श्रेष्ठको पौष १४ गते जन्मदिन हो । उनी आज यो धर्तीमा छैनन् । श्रीकृष्णको निधन भएको ६ महिना भैसकेको छ । तर, पत्नी स्वेता खड्का भने श्रीकृष्णको यादमा अझै पनि विक्षिप्त छिन् ।

श्रीकृष्णको जन्मदिनमा स्वेताले फेसबुक मार्फत एक पत्र सार्वजनिक गरेकी छिन् । जुन पत्र पढ्दा जो कोहीको पनि आँखा भिज्छ । स्वेताले जीवनभर श्रीकृष्णको माया, विश्वासलाई लिएर अगाडि बढ्ने लेखेकी छिन् । उनले लेखेकी छिन् –‘यो भन्दा अघिल्ला जन्मदिनमा हजुरका लागि उपहार लिएर आउथें । यसपटक माफ गर्नुहोला, हजुरलाई उपहार दिनको सट्टा उल्टै हजुरसँग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थ्यको भिक माग्ने आँट गरिरहेको छु ।'
यो जीवनमा हजुर र म शारिरिक रुपमा यति छोटो समयमा अलग हुन पर्छ भनेर मैले कहिल्यै सोचेको पनि थिईन I हजुरले बारम्बार भनेको कुरा - जीवनमा लेखेको कुरा जसरी पनि भएरै छाड्छ, अनेकौं कोशिज गरेपनि जन्मिदा लेखेर आएको कुरा कसैले मेट्न सक्दैन I हजुरले बोलेको कुरा प्रामाणित त गर्नु भयो तर मैले अझैपनि वास्तविक स्विकार्न सकेको छैन I बिहान उठ्दा सबै कुराहरु ठिकै भएपनि दिनभरीको यात्रामा के के घटना घट्छ कसैलाई केहि थाहा नहुँदो रहेछ I त्यो त मात्र रातपरेपछि थाहा हुने रहेछ अर्थात राती सुत्ने बेलामा सबै कुराहरु ठिकै भएर सुत्न गएपनि अचानक बिहान उठ्दा के हुन्छ, यो जीवनमा कसैले कहिल्यै ठोकुवा गरेर भन्न नसकिने रहेछ I लामो समयको मेहेनत , माया नै मायाले भरिएको बिस्वास, हिमाल भन्दा स्वच्छ र सफा हाम्रो मन, आकाश भन्दा फराकिलो र समुन्द्र भन्दा गहिरो हामी दुई बीचको माया प्रेमलाई जुनिभरि संगै हाँश्ने खेल्ने बाचा कसमका साथ बैबाहिक जीवनमा गाँस्न पुगियो I हजुरले म प्रति गरेको मायाँ , बिस्वास , साथ र त्याग म मेरो मन मस्तिक्क्षमा जीवनभरि बोकेर हिंड्नेछु र त्यहि मायालाई एउटा मेरो जिउने आधार बनाउने छु I मलाई पुरा बिस्वास छ आज मेरा हरेक दिनहरुमा हजुरले मलाई नजर लगाईरहनु भएको छ र हजुरले मलाई सधैभरि माया र आशिर्बाद दिईरहनुहुनेछ I मेरो मायाँ सधैभरि केवल हजुरलाई नै थियो र अबको बाँकि जीवनमा पनि हजुरकै नाममा रहिरहनेछ किनकि मेरो मन, मुटु र शरीरलाई हजुरको आत्माले दौडाउनु भएको छ I आजको यो महत्वपूर्ण दिन , हजुरको जन्मदिनको दिनमा म बिस्तारामा लडेर मेरो भगवान , मेरो जिन्दगी , मेरो ढुकढुकी हजुरलाई सम्झेर - केवल हामीले संगै बिताएका रमाईला क्षणहरु कल्पना गरिरहेको छु Iएकै छिनमा हाँश्न थाल्छु , छिनमै रुन अनि आत्तिन पुग्छु तर फेरि हिम्मत गरेर अघि बढ्ने अनेक कोशिज गरेको छु किनकि मलाई पुरा बिस्वास छ हाम्रो मायाँ सधै अमर रहिरहने छ र यो मायाँ कहिल्यै घट्ने छैन केवल बढिरहने छ I आज भन्दा पहिलाको जन्मदिनहरुमा म हजुर सामु उपहारहरु लिएर उपस्तित हुन्थे तर माफ गरिदिनु होला यो पटक मैले हजुरलाई उपहार दिनु को सट्टा उल्टै हजुरसंग मैले उपहार स्वरुप आफ्नो असल स्वास्थको भिक माग्ने आँट गरेको छु I हेर्नुस न मेरो स्वास्थ्यमा कत्ति सुधार आएको छैन , म रातदिन सुत्न परेको छ , मलाई सन्चो भएको छैन , मैले जति कोशिज गरेपनि म उठ्न सकेको छैन , प्लिज मलाई हजुरले शक्ति दिनुहोला , छिटो भन्दा छिटो मलाई उठाई दिनुहोला , हजुरले मलाई सुम्पिएर गएका कामहरु अलपत्र परेका छन , मलाई छिटो निको भएर हजुरको सारा योजना र सपना सफल बनाउने ठूलो इच्छा जागेको छ तर राम्रो संग आफ्नै शरीर सम्हाल्न सकेको छैन I प्लिज मलाई साथ दिनुहोस र छिटै निको बनाएर अघि बढाईदिनुहोस यहि उपहार मागे मैले हजुरको यो जन्मदिनमा I हजुर जहाँ हुनुहुन्छ म सधैं हजुरको साथमा रहिरहने छु र केवल हजुरको नाममै बाँचि रहनेछु यहि छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको शुभकामना I हामी दुवैले नचाहँदा नचाहँदै पनि आज भौगोलिक दृस्टीकोणले हामी टाढा हुन बाध्य भएपनि आत्मिय रुपमा हामी सधैंभरि नजिकै रहिरहने छौँ र म जीवनभरि हजुरको यादै यादमा बाँचि रहने छु .. यहि बचन छ हजुरलाई मेरो तर्फबाट यो जन्मदिनको बचन कामना I

