चलचित्र सेन्सर बोर्डमा अनपढ मानिस पुगेको र फिल्मको भाषा नवुझेको भन्ने निर्देशक निश्चल बस्नेतको स्टाटसमा निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेलले कडा जवाफ फर्काएका छन् ।
.jpg)
चलचित्र सेन्सर बोर्डमा अनपढहरुको पुगेको भन्ने भनाइमा सुरेशले कुनै पनि व्यक्तिको नाम नलिइकन काल्पनिक पात्रको नाममा निश्चलको स्टाटस लक्षित गर्दै भने– ‘कसले कति पढेको छ, सर्टिफिकेट लिएर आए हुन्छ ।' उनले थपे, 'कि त सेन्सर बोर्ड नै चाहिदैन भन्नु पर्यो कि त सरकारले तोकेका मापनहरुलाई मान्नुपर्यो ।’
सेन्सर बोर्डको सदस्य भईसकेका सुरेशले कडा शैलीमा विकास बोर्डको कुर्सीमा आएर आफ्नो कुरा राख्न भने । सुरेशले एसी कोठामा बसेर कुर्सी घुमाएर फेसबुकमा स्टाटस लेख्दैमा समस्याको समाधान नहुने भन्दै विकास बोर्डमा आएर कुरा गर्न कडा शैलीमा आग्रह पनि गरे । 'आफ्नो समस्या लिएर आउनुस्, बिकास बोर्ड तपाईंको समस्या सुन्न तयार छ ।'
आफू विकास बोर्डमा पुगेपछि अहिले फिल्म क्षेत्रका बारेमा ठूला कुरा गर्ने कोहीपनि एकदिन बोर्डमा नपुगेको भन्दै उनले बाहिर बसेर ठूला कुरा नगर्न चेतावनी दिए । फिल्मकर्मी नै एकजुट भएर काम नगरे फिल्म क्षेत्रको विकास नहुने भन्दै उनले फिल्म जुधाउने काम फिल्मीकर्मीले नै गरेको बताए ।
निर्देशक निश्चल बस्नेतले फिल्म 'जिन्दगी रक्स'को सेन्सरका क्रममा सेन्सर बोर्डले विभिन्न दृश्य काट्न र म्यूट गर्न भनेपछि आफूलाई हाँसो लागेको भन्दै स्टाटस लेखेका थिए ।

