फागुन १५ गते देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म 'अझै पनि'को पोष्टर र ट्रेलर रिलिज गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका विच फिल्मको पोष्टर र ट्रेलर रिलिज गरिएको हो ।

कार्यक्रममा फिल्मका मुख्य पात्र तथा निर्माता सुदर्शन थापाले फिल्मको सम्वाद बोल्दै सबैका सामु अभिनेत्री पूजा शर्मालाई किस गरे । सुदर्शनले संवाद बोल्दै गर्दा पूजा स्टेजमा चढिन् । सुदर्शनले पूजाको हात समाते अनि हातमा किस गर्दै भने, 'आई लभ यू' । पूजा लजाईन् । फिल्ममा प्रेमी प्रेमिका बनेको यो जोडी वास्तविक जीवनमा पनि असल प्रेमी जोडी हुन् ।

केहि बेर रोमान्टिक बनेका सुदर्शन एक्कासी कड्किए । आफ्नो फिल्मसँग अर्को फिल्म जुध्न आएपछि उनले स्वर्गिय आलोक नेम्वाङको सिर्जनालाई सम्मान गरिदिन आग्रह गर्दै फिल्म नजुधाईदिन अनुरोध गरे । उनले कडा हुँदै भने, 'जीउँदो सुदर्शनको फिल्मसँग जति जुधाए पनि हुन्छ तर आलोक दाइको सिर्जनलाई सम्मान गरिदिनुस् ।' 'अझै पनि'सँग 'मिसन पैसा रिलोडेड' भिड्दै छ ।

'अझै पनि' नारी प्रधान फिल्म भएको बताउँदै निर्माता पूनम गौतमले आलोकले अहिलेको समाज परिवेश सुहाउँदो रंग भरेर फिल्म निर्देशन गरेको बताईन् । अहिलेको आधुनिक युगमा नेपाली महिलाहरुले सिन्दूर पोते लगाउन विर्सिसकेको बताउदैं निर्माता गौतमले एउटी महिलाको लागी बिबाह भएपनि सिन्दुरपोतेको महत्व कस्तो हुन्छ भन्ने कुरा फिल्मले देखाउने सुनाईन् ।

फिल्ममा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, मिथिला शर्मा, विजय लामा, विशाल ढुंगाना, पुष्प खड्का, रामशरण पाठकलगायतका कलाकारहरुको अभिनय रहेको छ । राजेश श्रेष्ठको छायाँकन रहेको फिल्ममा सचिन सिंह, महेश खड्का, हरी लम्साल र राजनराज सिवाकोटीले संगीत दिएका छन् भने कथा रामशरण पाठकले लेखेका हुन् ।
काठमाडौं भित्र दर्शना आर्टस्ले वितरण गर्न लागेको यो फिल्मलाई उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।



