अभिनेत्री नन्दिता केसी र अभिनेता दीलिप रायमाझीको मुख्य भूमिका रहेको फिल्म ‘लोग्ने मान्छे’को अडियो सार्वजनिक भएको छ । विभिन्न फिल्म सम्बन्धी संघसंस्थाका प्रतिनिधी र फिल्मका यूनिटले यसको अडियो सार्वजनिक गरेका हुन् ।


प्रदीप मित्तलको निर्माणमा तयार भएको यो फिल्मलाई लय संग्रौलाले निर्देशन गरेका हुन् । टेलिफिल्म निर्देशनमा चर्चित मानिएका लयले पहिलो पटक फिल्म निर्देशन गरेका हुन् । उनले फिल्मले पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गरेको बताए ।
ठट्यौली शैलीका लयले यो फिल्म असफल भयो भने आफू कालिमाटीमा तरकारी बेच्न जाने समेत बताए । 'मलाई तरकारी बेच्न पठाउने नपठाउने तपाईं सञ्चारकर्मी र दर्शकको हातमा छ', लयले भने, 'मैले आफ्नो तर्फबाट राम्रो फिल्मा बनाएर तपाईंहरू माझ ल्याएको छु ।'

कार्यक्रममा आफ्नो भनाई राख्दै अभिनेत्री नन्दिता केसीले श्रीमानलाई माया गर्ने एक नारीको भूमिकामा आफू देखिएको बताइन् । उनले आफू २ बर्षपछि फिल्ममा फर्किएको समेत सुनाइन् ।
चार गीत समावेश यो फिल्ममा चेतन सापकोटाको संगीत तथा लय संग्रौलाको शब्द छ । फिल्ममा स्वरुपराज आचार्य, दीपक लिम्बु, माण्डवी त्रिपाठी, इन्दिरा जोशी, अन्जु पन्तको आवाज छ । कार्यक्रममा एल्बममा समावेश २ वटा गीतको भिडियो पनि देखाइएको थियो ।
माघ २३ गतेबाट चल्ने यो फिल्मका परिकल्पनाकार उत्तम केसी हुन् । फिल्ममा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध र वनिश शाहको सम्पादन छ । यो फिल्मलाई काठमाण्डौमा गोपाल कायस्थ र राजधानी बाहिर एफडी कम्पनीले वितरण गर्दै छ ।

