फिल्म 'बाबुसाहेब' बनाएपछि असफलताले गर्दा अमेरिका भासिएकी अभिनेत्री करिश्मा मानन्धर ९ बर्षपछि नेपाल फर्किइन् । उनी नेपाल आएर केही समय सामान्य भूमिकामा नै फिल्म खेलिरहिन् । उनै करिश्माले लामो समयपछि आफूलाई फिल्म निर्माणमा फर्काएकी छिन् ।

करिश्माले निर्माण गर्न लागेको फिल्मले प्रेमको बिषयलाई उठान गर्नेछ । निर्देशक बन्ने तयारीमा लागेकी करिश्माले यसपटक भने निर्माणमा मात्र आफूलाई उभ्याएकी छिन् । करिश्माको फिल्म निर्माणमा फर्कनुलाई सकारात्मक रुपमा लिइएको छ ।
अभिनेता भुवन केसी पनि 'साथी म तिम्रो' औषत सफलताले केही पछाडि रहे । उनी पछाडि रहँदै गर्दा उनका छोरा अनमोल केसी भने स्टार बन्ने दौडमा लागे । अनमोलका २ फिल्म एकपछि अर्को सुपरहिट भए । भुवन भने पर्दा पछाडि बसेरै छोरालाई साथ दिइरहे ।
भुवन अब भने निर्माता र निर्देशक बनेर फिल्म नगरीमा कमब्याक गर्दैछन् । भुवन यतिबेला 'ड्रिम' नामक फिल्मको स्क्रिप्टमा छन् । यो फिल्ममा उनले छोरा अनमोललाई नै खेलाउने तयारी गरिरहेका छन् ।
करिश्मा र भुवन एकपछि अर्को गर्दै फिल्म निर्माणमा फर्किदा अभिनेता राजेश हमाल भने मौन छन् । हमालले आफ्नो बिहे भर्खरै भएकाले प्रोडक्शन चालु रहेको ठट्यौली जवाफ मात्र दिइरहेका छन् । २ स्टार निर्माणमा जुरमुराउँदा राजेशको मौनता कहिले तोडिएला ?

