नेपाली टेलिभिजनको आकाशमा लामो समयदेखि कुदिरहेका २ भिजे नेपाली फिल्म बजारमा आउँदैछन् । यसलाई संयोग नै मान्नुपर्छ, २ टेलिभिजन सुन्दरीको प्रवेश नेपाली फिल्म नगरीमा एकसाथ हुँदैछ ।

पौष १८ गते अर्थात् अर्को साता नव अभिनेत्रीको रुपमा कान्तिपुर टेलिभिजनकी भिजे अकेषा बिष्ट फिल्म क्षेत्रमा आफ्नो परिक्षा दिंदैछिन् । उनको डेब्यू फिल्म 'जिन्दगी रक्स' चलेको खण्डमा उनी सफल भिजेसँगै अभिनेत्री पनि बन्नेछिन् ।
अकेशाको फिल्म प्रमोशनको दौडमा देखिएको अग्रसरतालाई हेर्ने हो भने पनि यही मुल्यांकन गर्न सकिन्छ, उनको सफलता पक्कै होला । म्यूजिक भिडियोमा सफल भएकी भिजे अकेषाका लागि सानो पर्दाका दर्शक हलसम्म आउँछन् या आउँदैनन् हेर्न बाँकी छ ।

'जिन्दगी रक्स' चलेको एक सातापछि अर्की भिजे आश्मा डिसीले पनि आफ्नो भाग्य चम्काउने सुर गरेकी छिन् । पौष २५ गते आश्माको भाग्य फिल्म 'आभाष'ले चम्काउनेछ । गोपिकृष्ण टिभी फिल्मीकी यी भिजेका लागि यो फिल्म चलेको खण्डमा फिल्मी यात्राका ढोका सुन्दर रुपमा खुल्नेछ ।

