भोजराज भाटले निर्देशन गरेको बृत्तचित्र `सुनाकली`लाई उत्कृष्ट ठहर्याउँदै काठमाण्डौ अन्तरराष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सोमबार सकिएको छ । यो फिल्मलाई जुरी र इसिमोड अवार्डसहित १ हजार अमेरिकी डलर प्रदान गरियो ।
'सुनाकली'ले मुगुमा बसोबास गर्दै आएका सुनाकली बुढा र उनको फुटबल टीमले जित्नका लागि गरेको संघर्षलाई पर्दामा प्रस्तुत गरेको छ । यस्तै, यो महोत्सवको अन्तरराष्ट्रिय प्रतिस्पर्धा विधा अन्र्तगत फ्रान्सका निर्देशक हर्वे टिवरघिअनको 'द डेज अफ तराप' नामक फिल्म उत्कृष्ट भयो । यो फिल्मले १ हजार ५ सय अमेरिकी डलर पुरस्कार जित्यो ।
कला संग्रौलाले निर्देशन गरेको 'बुट्टे'ले दर्शक अवार्ड पाउँदै गर्दा वृत्तचित्र अवार्ड लक्ष्य वान्तवाको 'पवन'ले जित्यो । स्विकार शाह र मिलनको फिल्म 'मानिस हराएको सूचना' तथा अंकित केसीको 'अ थाउजेन्ड ड्रीम्स' र पूजा गुरुङ र बिभुषण बस्नेतको फिल्म 'द कन्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट'ले स्पेशल मेन्सन अवार्ड जितेका छन् ।
फिल्म महोत्सवमा 'जेनेरेसन ग्रीन' नाम दिइएर छोटा फिल्मको प्रतिस्पर्धा पनि भएको थियो । यो विधामा इशान भुषालको 'पेन्गुनइन रिभोलुसन'ले पहिलो हुँदै ८० हजार नगद पुरस्कार जित्यो । दोश्रो हुने अमिताभ जोशीको घिलिङको 'ग्रीन हाउस'ले ६० र शंकर धितालको 'नेचर नेभर फर्गिभ'ले तेश्रो हुँदै ४० हजार नगद जितेका छन् । नेपाल पानारोमा अर्न्तगत सचिन घिमिरेको 'पुण्टेको पाङ्ग्रो' उत्कृष्ट भयो ।
पाँच दिनसम्म चलेको १२ औं काठमाण्डौ अन्तरराष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा विभिन्न बिषयमा बहस पनि चलाइएको थियो ।

