एउटै कलाकारका एकै महिनामा लगातार ३ फिल्म प्रदर्शनमा आउँदा दर्शकले कस्तो प्रतिक्रिया देलान् त ? लगातार एउटै कलाकारलाई दर्शकले ३ हप्तासम्म हलमा हेर्लान् ? निर्मातालाई राहत होला ? कलाकारलाई कस्तो असर पर्ला ?
फाल्गुण महिनामा अभिनेता आर्यन सिग्देलको हकमा यस्तै हुनेछ । कारण, उनले अभिनय गरेका ३ फिल्म सोही महिनामा लाग्दैछ । फाल्गुण ८ गते आर्यनले अभिनय गरेको एक्सन फिल्म 'आवेग' प्रदर्शनमा आउँदैछ । यहि दिनमा आर्यनकै अभिनय रहेको अर्को फिल्म 'माला'को पनि प्रदर्शन मिति तोकिएको छ ।
२ फिल्म एकसाथ लाग्दा आर्यनलाई नै घाटा लाग्नेछ । अर्कोतिर, दुबै फिल्मका निर्माता मर्कामा पर्ने पक्का छ । यसको २ साता लगतै फाल्गुण २२ गते फिल्म 'पूनर्जन्म' लाग्नेछ । यो फिल्ममा आर्यन आर्मीको भूमिकामा देखिएका छन् । माघ महिनामा भने आर्यनका फिल्म प्रदर्शनमा आउने छैनन् ।
कात्तिकबाट लगातार हरेक महिना आर्यनको कुनै न कुनै फिल्म प्रदर्शनमा आइरहेका छन् । पौष २५ गते 'अलबिदा' हलमा लाग्दैछ । कुनै समयमा बर्षमा एउटा मात्र फिल्म खेल्ने आर्यन अहिले हातमा आएका सबै फिल्म खेलिरहेका छन् । जसका कारण पनि उनका एक पछि अर्को फिल्म जुध्ने अवस्थामा पुगेका हुन् ।

