अभिनेत्री सुमिना घिमिरे फिल्म क्षेत्रबाट टाढा भएकी छिन् । फिल्म 'माला'को डबिङ सकेर उनले आफू अब यो क्षेत्रबाट टाढा भएको बताएकी हुन् । 'माला'का निर्माता शिशिर रानासँग उनले अब आफू यो फिल्मको प्रचारमा पनि नहिड्ने जानकारी दिंदै अबदेखि फिल्म नखेल्ने बताएकी थिईन् ।
यो फिल्मको डबिङ सकेपछि सुमिनाले आफ्ना लागि अभिनयका हिसाबले 'माला' अन्तिम भएको र अर्को बर्ष 'भिमदत्त' प्रदर्शनमा आउने बताएको निर्माता रानाले जानकारी दिए ।
यो क्षेत्रबाट टाढा भएसँगै सुमिनाले मोबाइल नम्बर पनि परिवर्तन गरेकी छिन् । उनले आफ्नो नयाँ नम्बर निकटका व्यक्ति बाहेक फिल्मकर्मी तथा सञ्चारकर्मी कसैलाई उपलब्ध गराएकी छैनन् ।
विभिन्न समयमा विवादमा आउँदा सुमिना पछिल्ला समयमा फिल्म क्षेत्रमा पछि परेकी थिइन् । फिल्म क्षेत्रमा नकारात्मक चर्चाका कारण सुमिनाको क्रेज खासै बन्न सकेको थिएन । यसैले पनि उनी फिल्म क्षेत्रमा अब नकर्फने सोचमा पुगेको हुनसक्छ ।
निर्माता शिशिर रानालाई उनले बिहे गर्न लागेको समेत बताएकी थिइन् । यस बिषयमा सुमिनासँग वुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
हाल प्रदर्शनरत फिल्म 'रंग बैजनी'को प्रचारमा पनि सुमिनाले साथ दिईनन् । उनी अब कुनै सभा समारोहमा समेत उपस्थित नहुने बुझिएको छ ।

