सम्झौता गरेपनि कार्यन्वयन नगर्ने नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघ विच पुन: नयाँ सहमती भएको छ । आज भएको एक कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमा राई र चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि भएका विभिन्न सम्झौतालाई समेत कार्यन्वय गर्ने दुबै संस्थाको भनाई छ । विशेषगरि नेपाली फिल्मको प्रदर्शनलाई व्यवस्थित गर्नका लागि नयाँ संझौता गरिएको निर्माता संघका अध्यक्ष राजकुमार राईले बताए । उनले निर्माता र प्रदर्शकहरुलाई आ-आफ्नो संस्थाको मर्यादामा ल्याउने आवश्यक रहेको जनाए ।
यस्तै चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले निर्माता संघ र चलचित्र संघले आ-आफ्नो विवाद मिलाएर अगाडि बढ्दा फिल्म क्षेत्रलाई फाइदा पुग्ने भन्दै सम्झौता गरेको बताए । नयाँ सम्झौताले कतै मानिसको मौलिक अधिकारमा सिन्डिकेट लगाउन त खोजेको होइन भन्ने प्रश्नमा दुबै संस्थाका अध्यक्षले यसो नभएको बताए ।
फिल्म बनाउने र फिल्म चलाउने दुबै व्यक्ति आ-आफ्नो संस्थाको सदस्य हुन जरुरी रहेको उनीहरुको तर्क थियो । २ संघविच भएको ११ बुँदै संझौताको पूर्ण अंश यस्तो छ -
१.नेपाल सरकार, चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण गर्ने इजाजत प्राप्त व्यवसायी नेपाल चलचित्र निर्माता संघको सदस्य रही निर्माण गरेको चलचित्र नेपाल चलचित्र निर्माता संघमा अनिवार्य दर्ता गर्नुपर्ने छ ।
२. नेपाल सरकार, चलचित्र विकास बोर्डबाट चलचित्र वितरण इजाजत प्राप्त व्यवसायी नेपाल चलचित्र संघका वितरक सदस्यहरुलाई मात्र नेपाली चलचित्र निर्माताहरुले चलचित्र वितरणको अधिकार दिनुपर्ने छ ।
३. नेपाल चलचित्र निर्माता संघमा दर्ता भएका नेपाली चलचित्रहरुमात्र नेपाल चलचित्र संघमा सदस्य भएका चलचित्र वितरकले अनिवार्य रुपमा नेपाल चलचित्र संघमा चलचित्र दर्ता गरेर मात्र प्रदर्शन गर्नुपर्ने छ ।
४. नेपाल चलचित्र संघको सदस्य रहेका प्रदर्शकहरुलाई मात्र चलचित्र वितरकले चलचित्र प्रदर्शनका लागि दिनुपर्नेछ । सदस्य नरहेका प्रदर्शकहरुलाई चलचित्र प्रदर्शन गर्न दिए सो वितरकको चलचित्र रोक लगाउन दुबै संघ सहमत गर्दछौ ।
५. चलचित्र प्रदर्शन समाप्त भएको मितिले १५ दिन भित्र प्रदर्शकले हरहिसाब फरफारक गर्नुपर्ने छ । फरफारक नगरी अटेर गर्ने प्रदर्शकलाई चलचित्र प्रदर्शनमा रोक लगाउन सकिने छ ।
६. निर्माता वा वितरकहरुले आफ्नो चलचित्र प्रदर्शनका लागि प्रदर्शकहरुलाई अनावश्यक दबाब दिएको खण्डमा त्यस्ता चलचित्रलाई नेपालभर प्रदर्शन रोक लगाउन सकिने छ ।
७. नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघमा दर्ता नभएका चलचित्रहरु वितरण तथा प्रदर्शन गर्न पाइने छैन । तर, कुनै पनि वितरक वा प्रदर्शक सदस्यले त्यस्ता चलचित्रहरु वितरण तथा प्रदर्शन गरेमा नेपाल चलचित्र संघले आवश्यक कारबाही गर्ने छ र नेपाल चलचित्र निर्माता संघले समर्थन गर्ने छ ।
८. नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघका बीचमा विभिन्न समयमा भएका सहमती र संझौताहरु कार्यन्वयन गर्नका लागि दुबै संघका ३–३ जना गरि ६ जनाको एक कार्यदल गठन गरिने छ ।
९. दुबै संघका विचमा विभिन्न मितिमा भएका सहमती र संझौताहरु कार्यान्वयन गर्ने क्रममा कुनै विवाद वा असहज परिस्थिती श्रृजना भई संशोधन गर्न परेमा सो को जानकारी दुबै संघमा एक महिना पहिले गर्नु पर्नेछ ।
१०. यो संझौता मिति २०७१ साल मंसिर २८ गतेदेखि लागू हुनेछ ।
११. माथि उल्लेखित संझौताका शर्तहरु दुबै संघले पालना गर्ने छौ ।

