प्रदर्शनको तयारीमा रहेको फिल्म 'जिन्दगी रक्स' युनिटले सफलता एचआइभी शिक्षा सदनका एचआइभी संक्रमित बालबालिकासँग खुसी साटासाट गरे । झण्डै तीन घण्टा ति बालबालिकासँग युनिटले समय विताउँदै नाचगान सहित खुसी साटासाट गरेको हो ।

मानव जीवन संरक्षण मंच नेपालले ति एचआइभी संक्रमित बालबालिकालाई लत्ताकपडा हस्तान्तरण गर्ने कार्यक्रममा 'जिन्दगी रक्स' फिल्म युनिट पुगेको हो । मंचले फिल्म युनिटको हातबाट करिब ४० हजार रुपैँया बराबरको जाडोमा लगाउने लत्ताकपडा हस्तान्तरण गर्यो ।
सोही अवसरमा 'जिन्दगी रक्स' युनिटले एचआइभी संक्रमित बालबालिकालाई खाद्यान्न उपलब्ध गरायो । आफ्ना अगाडी फिल्म युनिट देख्दा बालबालिका निकै खुसी देखिएका थिए । युनिटले पौष १८ गते एचआइभी संक्रमित बालबालिकालाई फिल्म समेत देखाउने भएको छ ।

किर्तिपुर भत्केपार्टीमा अवस्थित सफलता एचआइभी शिक्षा सदनमा हाल २१ जना एचआइभी संक्रमित बालबालिका रहेका छन् । ३ देखि १४ बर्षसम्मका बालबालिका मध्ये ९ जना छात्रा र १२ जना छात्र रहेका छन् । मञ्चले अघिल्लो बर्ष अभिनेत्री केकी अधिकारीको हातबाट सहयोग हस्तान्तरण गरेको थियो ।

