फिल्म हाउ फन्नीको शुभसाइतसँगै छायांकन सुरु गरिएको छ । एभरेष्ट चाइल्ड केयर होम बनस्थली काठमाण्डौबाट फिल्मको मुहुर्त गर्दै छायांकन सुरु गरिएको हो । निलु डोल्मा शेर्पाको निर्देशनमा बन्न लागेको फिल्मको कार्यकारी निर्माता माल्भिका सुब्बा हुन् । फिल्ममा दयाहाड राई, प्रियंका कार्की, निशा अधिकारी, अनुप विक्रम शाही, शिशिर राणा लगायतका कलाकारले अभिनय गर्नेछन् ।
फिल्मको मुहुर्त कार्यक्रममा बोल्दै कार्यकारी निर्मात्री माल्भिका सुब्बाले कथा पुरानो भएपनि प्रस्तुती नयाँ रहने दाबी गरिन् । उनले दर्शकको समय र पैसाको सही सदुपयोग गराउने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् । यस्तै, निर्देशक डोल्माले रमाइलो कथामा आफुहरुले कुनै संझौता नै नगरि काम सुरु गरेको बताइन् । अभिनेत्री निशा अधिकारीले आफूले फिल्ममा धनी बाउकी छोरीको भूमिका निर्वाहा गर्न लागेको बताइन् । उनले फिल्म हेरेपछि दर्शकले आफ्नो भूमिकामा नयाँ कुरा पाउने दाबी गरिन् ।
कलाकार अनुप विक्रम शाहीले फिल्ममा आफूले कुमुद पात्रको भूमिका निर्वाहा गर्न लागेको बताए । फिल्ममा हरि हुमागाँइको छायांकन, शान बस्न्यातको पटकथा तथा संवाद छ । फिल्मको पहिलो सटमा अभिनेत्री निशा अधिकारीले चाइल्ड केयरका बच्चलाई किताब, कपि तथा कलम वितरण गरिन् । फिल्मको शुभसाइत समारोहमा चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोख्रेल, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय उपस्थित थिए । सुरेशले क्ल्याप हान्दै फिल्मको मुहुर्त गरेका थिए ।

