अभिनेता आर्यन सिग्देल हप्ता दिन अघि मात्र अप्रेशन गरेको खुट्टालाई बैशाखीको साहारा दिंदै त्रिभुवन आर्मी अफिसर्स क्लबको हलमा पुगे । फिल्म 'महशुस'बाट उत्कृष्ट अभिनेताको अवार्ड जित्दै गर्दा आर्यन ज्यादा खुशी देखिए ।
.jpg)

कामना मासिक पत्रिकाले पहिलो पटक सिजी इन्टरटेन्मेन्टसँगको सहकार्यमा आयोजना गरेको 'सिजी कामना फिल्म अवार्ड २०७१'मा आर्यनले उत्कृष्ट अभिनेताको अवार्ड जित्दै गर्दा अभिनेत्रीतर्फ भने 'महशुस' फिल्मबाट नै केकी अधिकारी उत्कृष्ट ठहरिइन् । केकी अष्ट्रेलिया रहेकाले अवार्डमा सहभागी हुन सकिनन् ।
त्रिभुवन आर्मी अफिसर्स क्लबको हलमा आयोजित अवार्ड समारोहमा नवल नेपालले 'मसशुस'बाटै उत्कृष्ट निर्देशकको अवार्ड थापे भने उत्कृष्ट फिल्म पनि यही नै घोषित भयो ।
.jpg)

अवार्ड समारोहको शुरूवात पुरानादेखि नयाँ पुस्ताका कलाकारको नृत्यबाट भएको थियो । अभिनेताहरु भुवन केसी, शिव श्रेष्ठ, कृष्ण मल्ल, रमेश उप्रेतीसँगै अहिलेका चर्चित बाल कलाकार अनुभव रेग्मीले पुरानादेखि नयाँ गीतमा नृत्य गरे । उनीहरुलाई भुवन चन्द, गौरी मल्ल, शर्मिला मल्ल, चैत्य देवी, झरना थापा, करिश्मा मानन्धर, ऋचा शर्मा, नम्रता सापकोटा र बाल कलाकार सुज्ञानी भट्टराइले साथ दिए ।
अवार्डको सुरुवातमा नै कलाकारिता तर्फबाट 'कीर्तिमाया दीर्घ योगदान सम्मान'बाट कलाकार हरीप्रसाद रिमाललाई १ लाख नगद सहित सम्मानित गरियो । यस्तै प्रविधीतर्फको 'कीर्तिमाया दीर्घ योगदान सम्मान'बाट छायांकार बैकुण्डमान मास्केलाई नगद १ लाख सहित सम्मानित गरियो । संगीतर्फको क्रिटिक्स अवार्ड हरी लम्सालले पाउँदै गर्दा फेशनतर्फको क्रिटिक्स अवार्ड मुक्ता श्रेष्ठ र थिएटर तर्फको क्रिटिक्स अवार्ड प्रविण खतिवडालाई प्रदान गरियो ।


अवार्ड कार्यक्रममा नेपाली फिल्ममा लाग्दा लाग्दै निधन भएका कलाकारहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । अभिनेत्री गौरी मल्लले स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको पछिल्लो फिल्म 'कोहिनुर'को शिर्ष गीतको म्यूजिकमा दियो बाल्दै नृत्य गरेकी थिइन् । उनलाई अन्य केही कलाकारले साथ दिए ।
कुल २६ विधामा प्रदान गरिएको अवार्डमा फिल्म 'महशुस' हाबी देखियो । यो फिल्मले ६ वटा विधामा अवार्ड जित्यो । अवार्ड जित्ने फिल्मकर्मी र फिल्मको नाम यसप्रकार छ ।
१.उत्कृष्ट श्रृङ्गार : निमा लामा (मौन)
२. उत्कृष्ट साउण्ड डिजाइनर : उत्तम न्यौपाने (मौन)
३. उत्कृष्ट छायांकार : हरी हुमागाँइ (होस्टेल)
४.उत्कृष्ट सम्पादक : सुरेन्द्र पौडेल (होस्टेल)
५.उत्कृष्ट द्वन्द्व : सूर्य थोकर (लभ फरेभर)
६. उत्कृष्ट ब्याकग्राउन्ड स्कोर : रोहित शाक्य (मौन)
७. उत्कृष्ट नृत्य : कविराज गहतराज (काली)
८. उत्कृष्ट कथा : प्रविण श्रेष्ठ (मोक्ष)
९. उत्कृष्ट पटकथा : नवल नेपाल (महशुश)
१०. उत्कृष्ट संवाद : राजन कठायत र प्रज्ञान थापा (मोक्ष)
११. उत्कृष्ट नव–नायिका : प्रकृती श्रेष्ठ (होस्टेल)
१२. उत्कृष्ट नव–नायक : कोशिश श्रेत्री (मोक्ष)
१३. उत्कृष्ट पाश्र्व–गायक : प्रेम परियार (नाइ नभन्नु ल २)
१४. उत्कृष्ट पाश्र्व–गायिका : रजिना रिमाल (नाई नभन्नु ल २)
१५. उत्कृष्ट हाँस्य कलाकार : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट खलपात्र : मनोज आर.सी (मधुमास)
१७. उत्कृष्ट बाल–कलाकार : अनुभव रेग्मी (नाई नभन्नु ल २)
१८. उत्कृष्ट नव–निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१९. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
२०. उत्कृष्ट संगीतकार : गैरे सुरेश (नाई नभन्नु ल २)
२१.उत्कृष्ट सह–अभिनेत्री : वेनिशा हमाल (महशुस)
२२. उत्कृष्ट सह–अभिनेता : गौरव पहारी (होस्टेल)
२३. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुस)
२४. उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुस)
२५. उत्कृष्ट निर्देशक : नवल नेपाल (महशुस)
२६.उत्कृष्ट चलचित्र (महशुस)

