१२ बर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएका निर्देशक शम्भु प्रधानको 'रंग बैजनी'मा अभिनय गरेका अभिनेत्रीद्धय गरिमा पन्त र सुमिना घिमिरेको खासै बोलचाल छैन । आज आयोजना भएको फिल्मको पत्रकार सम्मेलनमा गरिमा र सुमिनाको सम्बन्धले ज्यादा चर्चा पायो ।

अभिनेत्री पन्तले सुमिनासँग आफ्नो सम्बन्ध राम्रो रहेको बताइन् । तर, गरिमा उपस्थित भएका फिल्मका सबै पत्रकार सम्मेलनमा सुमिनाको उपस्थिती छैन । गरिमाको नाम मिडियामा अगाडि आएपछि सुमिना प्रचारबाट अलग भएकी हुन् ।
'मिडियाले समाचारमा गरिमाको नाम अगाडि लेख्दा सुमिना आफूलाई 'रंग बैजनी'को सह-अभिनेत्रीको रुपमा दर्शकले हेर्ने सोचाई राख्छिन्', युनिटका एक सदस्यले भने । फिल्मको सुरुवातदेखि नै सुमिनाले यो बिषयमा फिल्मसँग आवद्ध केही यूनिटसँग कुराकानी समेत गरेकी थिइन् । यही कारणले नै सुमिना प्रचारबाट पूर्ण रुपमा अलग रहेकी छिन् ।
फिल्मको कथामा पनि गरिमा र सुमिनाकै द्धन्द छ । यता रियल लाईफमा पनि यस्तै देखिन थालेको छ । 'मलाई उहाँसँग कुनै समस्या छैन', गरिमाले फिल्मीखबरसँग कुरा गर्दै भनिन्, 'उहाँ किन प्रेसमिटमा आउनु भएन त्यो जानकारी मलाई भएन ।' निर्देशक शम्भु प्रधानले बारम्बार फोन गर्दा पनि मोबाइल अफ भएका कारण सुमिनासँग सम्पर्क हुन नसकेको बताए ।

मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा दिक्पाल कार्कीले २ अभिनेत्रीलाई साथ दिएका छन् । नुतन प्रधानले लेखेको कथालाई उनकै छोरा सशांक प्रधानले खिचेका हुन् । कार्यक्रममा बोल्दै निर्मात्री तथा लेखिका नुतन प्रधानले आफू यो फिल्मको प्रदर्शन पश्चात अमेरिका फर्कने र नयाँ कथा लेखेर फेरि फिल्म बनाउने बताइन् ।
निर्देशक शम्भु प्रधानले आफूले पैसा कमाउन फिल्म नबनाएको बताए । उनले अमेरिकामा बस्दा आफूलाई त्यहाँका नेपालीले दिएको मायाका कारण फेरि फिल्म बनाएर निरन्तरता दिएको बताए । अभिनेता दीकपाल कार्कीले फिल्मले आफ्नो करिअर कसरी अगाडि जाने भन्ने निर्धारण गर्ने बताए । फिल्ममा दिक्पालकी श्रीमती गरिमा र सुमिना प्रेमिकाको रुपमा छिन् ।


