अभिनेत्री नम्रता श्रेष्ठको सन्तान चाहना अधुरै भएको छ । लोग्नले मनको चाहना नबुझ्दा नम्रताको सन्तान चाहना अपुरै भएको हो । उनी आफू बाँझो भएकोमा चिन्तित छिन् ।

प्रसंग हो, अभिनेत्री श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेको नाटक 'यर्मा'को । आज शनिबारबाट काठमाण्डौको थिएटर भिलेजमा मञ्चन भएको नाटक 'यर्मा'मा नम्रताले निसन्तान महिलाको भूमिकामा अभिनय गरेकी छिन् । सोमबार बाहेक पौष ६ गतेसम्म चल्ने नाटकले एक महिलाको सन्तान जन्माउने चाहनालाई देखाउन खोजेको छ ।
करिब १ घन्टा ३० मिनेट लामो नाटक नम्रताकै वरिपरी घुमेको छ । यो नाटकमा सुम्निमा सम्पाङ, राजकुमार पुडासैनी, कमलमणी नेपाल, श्रृजना अधिकारी, विनु लामा, शर्मिला शाह लगायतका कलाकारले अभिनय गरेका छन् ।
विमल सुवेदीले निर्देशन गरेको नाटकलाई श्रृष्टी भट्टराईले अनुवाद गरेकी हुन् । वन वल्र्ड थिएटरको प्रस्तुतीमा थिएटर भिल्लाको सहकार्यमा नाटक मञ्चन गरिएको हो । स्पेनी नाटककार फ्रेडेरिको गार्सियो लोर्काले लेखेको 'यर्मा'लाई ८० वर्षपछि बिमल सुवेदीले नेपालमा मंचन गरेका हुन् ।
बच्चा नजन्माउने बाँझी आईमाई भन्ने अर्थ बोकेको 'यर्मा'मा स्पेनको भेडा गोठालो परिवारको कथालाई नाटकमार्फत वर्तमान नेपाली परिवेशसँग जोडीएको छ । यो नाटक पहिलोपटक सन् १९३४ मा मञ्चन भएको थियो ।
नम्रताले नाटकमा मुख्य भूमिका निर्वाहा गर्दा रमाइलो अनुभुती भएको बताइन् । उनले आफूलाई नाटकले तानेको बताइन् । नाटक हेर्न आएका अधिकांश दर्शकले नम्रताको अभिनयको प्रशंसा गरेका छन् ।

