पारिवारिक र दर्शकको मन छुने फिल्म बनाउन माहिर मानिएका निर्देशक शिव रेग्मी हामी माझ छैनन् । दर्शक आज पनि उनका फिल्ममा बग्छन् र आँशुका धारा बगाउँछन् । उनै रेग्मीको निधन भएको आज १ बर्ष भएको छ ।
रेग्मीको निधन मंसिर २४ गते भएपनि तिथीका आधारमा आज १ बर्ष पुरा भएको हो । रेग्मीको बार्षिकीको अवसरमा जन्मथलो चितवनमा उनलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ । यसका लागि काठमाण्डौबाट केही फिल्मकर्मी चितवन पुगेका छन् ।
काठमाण्डौबाट द्वन्द्व निर्देशक हिमाल केसी, निर्देशक मुस्कान ढकाल, कलाकार उत्तम केसी, संगीतकार लक्ष्मण शेष लगायतका फिल्मकर्मी चितवन पुगेका हुन् । चितवनको नारायणी कला मन्दिरमा आयोजना हुन लागेको शोक सभामा शिवलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ ।
'शिवको संझनामा उहाँको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्छौ', निर्देशक राजेन्द्र उप्रेतीले जानकारी दिएका छन् । शिव रेग्मीले बनाएका 'आफन्त', 'आफ्नो मान्छे', 'ए मेरो हजुर', 'सुख दुख', 'हामी तीन भाइ', 'कहाँ भेटिएला' जस्ता फिल्म चर्चित छन् । निर्देशक रेग्मीले निर्देशन गरेको अन्तिम फिल्म 'सो सिम्पल' हो ।