मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नारीको `साइलेन्ट पावर`मा कथा लेख्न रूचाउँछु` : नूतन प्रधान

सुमन गैरे, काठमाण्डौ, 2014/11/27
सबैले जानेको र बुझेको कुरा, फिल्म समाजको ऐना हो । फिल्मले समाजको यथार्थलाई चित्रण गर्दै दर्शकलाई मनोरञ्जन समेत दिन्छ । प्राय दर्शकको मन छुने कथा भनेकै नारी संवेदना र माया प्रेमका नै हुन् । यस्तै कथा लेखेर समाजको चित्रण गर्न रूचाउने लेखक हुन्, नूतन प्रधान ।
 
 
'बेहुली' फिल्मबाट व्यवसायिक रूपमा कथा लेखन शुरू गरेकी नूतनले 'सम्पती', 'सरस्वती', 'स्वर्ग', 'सपना', 'सक्कली नक्कली लगायत एक दर्जन फिल्मको कथा लेखेकी छिन् । उनले लेखेका अधिकांश कथा नारी संवेदनामा नै आधारित छन् जसले नेपाली समाजको चित्रण पनि गरेको छ । उनले लेखेका प्राय: सबैले फिल्मले दर्शकको मन जितेका पनि छन् । 
 
नूतनले झण्डै १२ बर्षपछि पुन: फिल्मको कथा लेखेकी छिन् । यहि मंसिर १९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रंग बैजनी'बाट उनको लेखनमा कमव्याक भएको हो । 'रंग बैजनी' पूर्ण रूपमा नारी संवेदनामा आधारित छ । भनिन्छ, नारीको दुस्मन नारी नै हो । 'रंग बैजनी'ले पनि यहि कुरालाई चित्रण गर्ने नूतनको भनाइ छ । 
 
'म नारी भएकै कारण नारीका कथाव्यथा बुझ्न सक्छु । त्यही बुझाईलाई कथामा ढाल्छु । 'रंग बैजनी' पनि आम नारीकै कथा हो । हाम्रै समाजको कथा हो', नूतनले थपिन्, 'म नारीको 'साइलेन्ट पावर'मा कथा लेख्न रूचाउँछु । यो फिल्ममा पनि नारीको 'साइलेन्ट पावर'लाई देखाउन खोजिएको छ ।'
 
'रंग बैजनी'को अर्थ के त ? अमेरिकाबाट फिल्मको प्रोमोशन गर्न नेपाल आएकी नूतनले आफ्नै फिल्म स्टुडियो 'नूतन स्टुडियो'मा साडीको सप्को समाउँदै भनिन, 'रातो र निलोको मिश्रणबाट बैजनी रंग बनेको हुन्छ । रातोले तातो अर्थात् रिसको अर्थ बोकेको छ भने निलोले शितलताको अर्थ बोकेको छ । 'रंग बैजनी'मा दुई महिला पात्रलाई रातो र निलोसँग जोडिएको छ । यिनै दुई महिला पात्रको द्धन्द नै 'रंग बैजनी' हो ।'
 
'रंग बैजनी'लाई नूतनकै श्रीमान् शम्भु प्रधानले निर्देशन गरेका हुन् । निर्देशनमा अब्बल मानिने शम्भूकै फिल्मको कथा नूतनले लेख्ने गरेकी छिन् । यो जोडी नै १२ बर्षपछि फिल्म निर्माणमा कमव्याक भएको हो । 
 
नूतन र शम्भुको पहिलो भेट मुम्बइको राजकमल स्टुडियोमा भएको हो । भारतको महाराष्ट्रमा जन्मेर हुर्केकी नूतनको बुवा मराठी र हिन्दी फिल्मका कलाकार हुन् । 'सानैदेखि फिल्मी माहोल बन्यो । मेरो रूचि पनि सानैदेखि फिल्मप्रति नै थियो', शम्भुलाई हेर्दै नूतनले भनिन्, 'जब उहाँसँग भेट भयो तब झन् फिल्ममा आउन सहज भयो ।'
 
 
शम्भु मुम्बईमा नै काम गर्थे जहाँँ नूतन पनि काम गर्थिन् । सरल स्वाभावकी नूतनलाई देखेर शम्भुले मन पराए । नूतनलाई पनि शम्भुको 'सिम्प्लिसिटी' मन पर्‍यो । प्रेम बस्यो । सन् १९७९ मा यि दुईको प्रेम विवाह भयो । त्यसपछि दुबै मिलेर फिल्म बनाए । नूतन कथा लेख्ने र निर्माणमा सघाउने । शम्भु निर्देशन गर्ने । फिल्म बुझेका यो जोडीले बनाएका 'सम्पती', 'सरस्वती', 'स्वर्ग', 'सपना', 'सक्कली नक्कली' लगायतका फिल्म हिट पनि भए ।
 
फिल्म के कारणले हिट हुन्छ त ? उनले भनिन्, 'कथा नै फिल्म चल्ने पहिलो दरिलो आधार हो । कथामा 'कम्प्रमाइज' हुनु हुन्न । त्यसपछि त्यो कथामा न्याय गर्नसक्ने निर्देशक, कलाकार र अन्य प्राबिधिकको भूमिका महत्वपूर्ण रहन्छ ।' उनको बुझाईमा लेखक र निर्देशकको विचार मिलेमा फिल्म राम्रो बन्छ र लेखकको सिर्जना पनि मर्दैन ।
 
फिल्म 'रंग बैजनी'बाट पनि नूतनले राम्रै आश गरेकी छिन् । आफ्नो कथालाई श्म्भुले न्याय गरेर प्रस्तुत गरेको उनको भनाइ छ । दर्शककै रूचि अनुरूप फिल्म बनाएको बताउँदै शत प्रतिशत सफल हुनेमा उनको विश्वास छ ।   
 
नूतनले कथा लेख्ने काम मात्र गरिनन् । उनले केहि फिल्ममा अभिनय समेत गरेकी छिन् । 'सम्पती' फिल्ममा सानो भूमिका निर्वाह गरेकी उनले 'सरस्वती' फिल्ममा गौरी मल्लको आमाको भूमिका निर्वाह गरिन् । 'सक्कली नक्कली' फिल्ममा त शिव श्रेष्ठको अपोजिटमा अभिनेत्री बनेरै अभिनय गरिन् । 
 
केहि फिल्म र टेलिफिल्ममा अभिनय गरेकी नूतनले भूमिका सुहाउँदो नभएका कारण अभिनयबाट ताढिएको बताईन् । उनको अभिनय गर्ने चाहना भने अझ मरेको छैन । बाहिरी प्रोजेक्टबाट कथा लेखनको अफर आए अवस्था हेरेर काम गर्ने उनको भनाइ छ ।