मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन लाग्दैछन् सिक्वेलको पछाडी ?

फिल्मीखबर, काठमाण्डौ, 2014/11/24
नेपाली फिल्मी बजारमा अहिले हिट फिल्मका सिक्वेल बनाउने लहर नै चलेको छ । सिक्वेल फिल्मले बजारमा खासै व्यापार नगरिरहेको समयमा नाम चलेका निर्माताहरु भने यसैमा लगानी गर्दैछन् । नेपालमा अहिलेसम्म सिक्वेल हिट भएको फिल्म 'नाई नभन्नु ल' मात्र हो । अन्य सबै फिल्म चिप्लदा निर्माताहरु रनथनिएका पनि छन् । 
 
हिट फिल्मको सिक्वेल बनाउने धुनमा अब बाघ निर्माताको उपनामले चिनिएका छवि ओझा पनि अगाडि आएका छन् । उनले हिट फिल्म 'किस्मत'को सिक्वेल बनाउने घोषणा आफ्नो जन्मदिनमा गरेका छन् । 
 
उज्वल घिमिरेले बनाएको 'किस्मत'को सिक्वेललाई श्याम भट्टराइले निर्देशन गर्ने भएका छन् । छविका लागि सिक्वेलको आवश्यकता किन पर्यो ? यो उनले नै जान्ने कुरा हो । छविको आशा होला, सिक्वेल पनि 'किस्मत' जस्तै हिट हुनेछ । 
 
फिल्म 'बाटो मुनिको फूल' पनि यही धुनमा लागेको छ । सुरज सुब्बा नाल्बोलाई स्थापित निर्देशक बनाएको यो फिल्मको सिक्वेलमा छविले जस्तै यश कुमारले पनि निर्देशक फेरेका छन् । अब 'बाटो मुनिको फूल २'मा सुरजको ठाउँ 'सुनगाभा' र 'फन्को'का निर्देशक सुवर्ण थापाको इन्ट्री भएको छ ।
 
विकास आचार्यले 'नाई नभन्नु ल'को सिक्वेल हिट बनाएपछि 'नाईं नभन्नु ल ३' पनि तयार गरिसकेका छन् । नेपालमा कुनै फिल्मको नामबाट तिन पटकसम्म फिल्म बनेको यो पहिलो हो । 
 
सबैले सोचेजस्तो कहाँ हुन्छ र ? एउटाको सिक्वेल हिट हुँदैमा सबै सिक्वेल हिट हुँदैनन् । यसको गतिलो उदाहरण हो, 'पापी मान्छे २' । निर्माता संघका वर्तमान अध्यक्ष राजकुमार राईले 'पापी मान्छे' हिट भएपछि बनाएको 'पापी मान्छे २' चलेन । छबिराज ओझाको निर्माणमा दीपक श्रेष्ठले निर्देशन गरेको 'हिम्मत'को सिक्वेल बन्यो । दीपकले अभिनेत्री यूना उप्रेतीका लागि लगानी गरिदिएको 'हिम्मत २' असफल हुँदा सबै सिक्वेल चल्दैन भन्ने देखियो । 
 
निर्माता मधुकुमार श्रेष्ठले बनाएको 'बिन्दास'ले सफलता हात पारेपछि उनले हतार गरेर 'बिन्दास २' बनाए । राजु गिरीलाई नै निर्देशनको जिम्मा दिएर उनले बनाएको यो फिल्मले बिन्दास व्यापार गरेन । 
 
सिक्वेल फिल्महरु प्रदर्शनको लागि केही तयार भएर बसेका छन् । नारायण पुरीले निर्देशन गरेको 'आगो'को सिक्वेललाई मदन घिमिरेले निर्देशन गरेका छन् । सेन्सरको झमेला देखाउँदै यो फिल्मले आफ्नो अगाडिको बाटो तय गर्न सकेको छैन । 
 
सिमोस सुनुवारले निर्देशन गरेको 'मिसन पैसा' चल्यो । तर, यसको सिक्वेल 'मिसन पैसा रिलोडेड' बनेको लामो समय भैसक्दा पनि चलेको छैन । यो फिल्मलाई माधव वाग्ले र नरेन्द्र महर्जनले बनाएका हुन् ।
  
यता, 'होस्टेल' फिल्म हिट भएलगतै 'होस्टेल रिटर्न्स' नाममा फिल्म बनेको छ । वैशाखको अन्तिम साता प्रदर्शनमा आउन लागेको यो फिल्मले 'होस्टेल'को चमक ल्याउँछ या ल्याउँदैन, प्रतिक्षा सबैको छ । निर्माताको यो लगानी पनि अहिले अग्निपरिक्षामा छ ।
 
बलिउडका 'धूम'को सिरिजले बक्स अफिसमा पैसा छापेको छापै छ । नेपालमा पनि यहि गति 'नाई नभन्नु ल'को सिक्वेलमा देखिने सम्भावना प्रवल छ ।