सडकमा हुर्किएको एक पात्रको राजा बन्ने सपनामा आधारित फिल्म ‘श्री ५ अम्बरे’ आजबाट देशभरका हलमा लागेको छ । दीपा बस्नेत निर्देशित यो फिल्मलाई जीवनसाथी फिल्मस्ले प्रस्तुत गरेको हो ।
फिल्म प्रदर्शन भएकै दिन आज बिहान काठमाण्डौको कुमारी हलमा विशेष शोको आयोजना गरिएको छ । फिल्म हेर्नका लागि एकिकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदिप ज्ञवाली हलमा पुगे ।
भट्टराई भने व्यस्तताका कारण १५ मिनेटपछि हलबाट निस्किएका थिए । एमाले नेता ज्ञवालीले पनि फिल्मले सडकमा बस्ने बालबालिकाहरुको कथालाई राम्रो तबरले उठान गरेको बताए ।
फिल्म हेर्ने अधिकांशले बिषयवस्तुलाई मन पराएका छन् । फिल्म हेर्नका लागि अभिनेता आर्यन सिग्देल, हाँस्यकलाकारत्रय दीपकराज गिरी, निर्मल शर्मा, दीपाश्री निरौला लगायत हलमा पुगेका थिए ।
यस्तै फिल्म हलमा पत्रकार र विभिन्न फिल्मीकर्मीको उपस्थिती थियो । अभिनेत्री केकी अधिकारी अष्ट्रेलिया रहेकाले शोमा सहभागी हुन सकिनन् । अभिनेता सौगात मल्ल विशेष शोमा एक्ला देखिएका थिए । टीएन आचार्य र दीपक आचार्यले निर्माण गरेको यो फिल्मले आज सन्तोषजनक व्यापार गरिरहेको छ ।