फिल्मबारे छलफल गराउने उद्देश्यले सोमबार मण्डला थियटरमा 'मन्डे मुभिज' नामक कार्यक्रमको आयोजना भयो । हरेक सोमबार हुने मन्डे मुभिजमा हरेक महिना एउटा देशका फिल्महरु देखाइनेछन् । त्यसैअन्तर्गत सोमबार चिनियाँ निर्देशक तियान झुवाङ–झुवाङले निर्देशन गरेको फिल्म ‘द ब्यु काइट’प्रर्दशन गरियो ।
दुई घण्टा २० मिनेटको फिल्म प्रदर्शनपछि फिल्ममाथि छलफल समेत गरियो । फिल्म समिक्षक यज्ञश र काठमाडौं अन्तराष्ट्रिय पर्वतारोहण फिल्म महोत्सव निर्देशक रम्यता लिम्बु अन्तरक्रियामा सहभागि भएका थिए । मण्डे मुभिज क्लबले आयोजना गरेको कार्यक्रममा अन्तरक्रिया फिल्मको विषयवस्तु, प्रविधि निर्देशकीय क्षमता र अभिनयमाथि केन्द्रित थियो ।
चिनियाँ निर्देशक तियान झुवाङ–झुवाङले निर्देशन गरेको फिल्म ‘द ब्यु काइट’मा टाइट्यु नामक किशोरको दृष्टिकोणमाथि केन्द्रित छ । बेइजिङमा सन् १९५० देखि ६० को दशकमा हुर्किरहेका टाइट्युले सय फूल अभियान, सांस्कृतिक क्रान्ति र अधिकार विरोध आन्दोलनले गर्दा सुरक्षाको लागि सौतेनी बुबाको सहारामा पुग्नुपर्दाको घटनाक्रम फिल्ममा देखाइएको छ । फिल्ममा पितृसत्ताको श्रृखलालाई प्रस्तुत गरिएको छ ।
चीनमा प्रदर्शनको लागि रोक लगाइएको यस फिल्मले सन् १९९३ को हवाई अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तर्गत ‘उत्कृष्ट फिल्म’को अवार्ड जित्न सफल भएको थियो । त्यस्तै सन् १९९३ को टोकियो अन्तराष्ट्रिय फिल्म महोत्सव अन्तरगत ग्यान्ड प्रिक्स र उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेको थियो ।
फिल्म समिक्षक यज्ञशले फिल्मभित्र सांकेतिक किसिमको भावलाई दृश्य भाषाको माध्यमले प्रयोग भएको जानकारी गराए । ‘यस फिल्ममा सांकेतिक भावहरुको प्रयोग अत्याधिक गरिएको छ । चीनमा फिल्म प्रदर्शनको लागि रोक लगाएपनि निर्देशकले एकै समयमा दुईवटा सर्टलाई खिच्न सफल भएका छन् । फिल्ममा कथा अभिव्यक्त गर्न धेरै शैली अपनाउन सकिन्छ भन्ने कुराको यसमा समावेश गरिएको छ,’ उनले भने ।
त्यस्तै काठमाडौं अन्तराष्ट्रिय पर्वतारोहण फिल्म महोत्सव निर्देशक रम्यता लिम्बुले फिल्ममा सामान्य बोलीचालीको भाषा अभिव्यक्त गर्न कठिन हुने बताइन् ।‘फिल्मको भाषाहरु लेख्न चुनौतीपूर्ण काम हो । म्युजिक, संगीत, संवाद र सांकेतिक भाव र अभिनय शैलीले फिल्म निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । क्रान्तिमाथि फिल्म बनाउँदा सामान्य सांकेतिक भावलाई जोड्न सकियो भने कम खर्चमा राम्रो फिल्म बनाउन सम्भव छ,’उनले भनिन् ।
समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभका सदस्यहरुले संयुक्त रुपमा मण्डे मुभिज क्लबको स्थापना गरेका हुन् । फिल्मसम्बन्धी रुचि राख्ने व्यक्तिहरुलाई क्लबमा सदस्य भएर फिल्ममाथिका विभिन्न छलफलमा गराउन आयोजक लागि परेको छ । वार्षिक रुपमा एक हजार रुपैंया तिरेर मन्डे मुभिजमा सदस्य बन्ने सकिनेछ ।

